वीरगञ्ज । हरि खेतान बहुमुखी क्याम्पसकोे प्रमुख परिवर्तन भएको छ । क्याम्पस प्रमुखमा कार्यरत डा. भगवान् प्रसाद यादवलाई उमेर हदका कारण अनिवार्य अवकाश दिएर नयाँ क्याम्पस प्रमुखमा किशोरी रायलाई जिम्मेवारी दिने सञ्चालक समितिले निर्णय गरेको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष पी.पी खेतानको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले डा. यादवलाई उमेर हदको कारण देखाउँदै अनिवार्य अवकाश दिएको हो । नयाँ क्याम्पस प्रमुखको जिम्मेवारी दिईएसँगै लामो समयसम्म एकछत्र राज गरेका डा.यादव बाहिरिएका छन् ।
झन्डै चार दशकदेखि क्याम्पस प्रमुख रहेका यादवलाई अवकाश दिएर अर्को क्याम्पस प्रमुखको व्यवस्था नभएसम्मका लागि रायलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको सञ्चालक समितिका अध्यक्ष खेतानले बताए । हरिखेतान क्याम्पस सामुदायिक क्याम्पस भएपनि निजी क्याम्पस सरह सञ्चालन गरेको भन्दै आलोचना हुदै आएको छ ।
सामुदायिक संस्थामा दर्ता गरिएको भन्दै सेवा सुविधा लिएर विद्यार्थीहरुसँग भने निजी क्याम्पसले जस्तै शुल्क लिने गरेको र कानून संकायमा पनि अनावश्यक शुल्क बढाएको विद्यार्थीहरुले गुनासो गर्ने गरेका छन् । वीरगन्ज विश्वविद्यालय स्थापना गर्ने नाममा तत्कालिन पर्साका ६८ वटा गाविससँग रकम लिएर अहिलेसम्म विश्वविद्यालय समेत स्थापना नगरिएको आरोप यादवमाथि लाग्दै आएको छ ।
यद्यपि रायलाई जिम्मेवारी दिने निर्णय गरेको सम्बन्धमा पनि प्रश्न उठाएका छन् । सञ्चालक समितिले आईतबार सार्वजनिक विदाको दिन बैठक बसेर गरेको निर्णयमाथि प्रश्न गरेका हुन् ।