वीरगन्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालयको कर्मचारीहरुको लापरवाहीले नेपाली आयातकर्ताले आयात गरेको १३ कण्टेनर छोकडा सडेर नोक्सानी भएको छ । लामो समयसम्म ड्राईपोर्ट भन्सारमा रहेको उक्त कण्टेनरको सामान बुधबार खोलेर हेर्दा सबै छोहडा सडेको फेला परेको हो । नेपाली आयातकर्ताले आयात गरेको १३ वटा कन्टेनरमा छोकडा सडेर नोक्सानी भएको हो ।
सुख्खा बन्दरगाह भन्सार कार्यालयमा सडेको अवस्थामा फेला परेको छोहडा कसको हो भन्ने विषयमा ड्राईपोर्ट भन्सार कार्यालयका अधिकारीहरुले सूचना दिन मानेका छैनन । उनीहरुले अनुसन्धान प्रभावित हुने भन्दै सूचना नदिने बताएका हुन । फेला परेको छोहडाको सन्दर्भमा सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सुशील शर्माले कण्टेनरको विषयमा सूचना दिन नमिल्ने बताए ।
उनले यार्डमा अलपत्र रहेको कण्टेनरको बुधबारदेखि अनुसन्धान शुरु भएकोले तत्काल केही भन्न नमिल्ने बताए ।
एक आयातकर्ताका अनुसार उक्त छोहडाको प्रति कण्टेनर १५ हजार अमेरिकी डलर पर्छ । भन्सार विन्दुसम्म तेश्रो मुलुकबाट आयात गरेको वस्तु जाँचपास हुन नसक्दा आयातकर्ताहरुको करोडौ रकम नोक्सानी मात्रै भएको छैन । राज्यले राजस्व पनि गुमाएको छ ।
नेपाली आयातकर्ताहरुले पटक पटक भन्सारको सन्दर्भ मूल्य खारेज गर्नुपर्ने माग राख्दै आएका छन् । तर, भन्सार अधिकारीहरुले भने भन्सारको सन्दर्भ मूल्य पुस्तिकालाई आफ्नो कमाई खाने माध्यमको रुपमा प्रयोग गर्दै आएको आरोप लाग्ने गरेको छ । सन्दर्भ मूल्यकै कारणले भन्सार विन्दुमा आयात भएका धेरै सामानहरु जाँचपास हुन नसकेर रोकिने गरेको छ ।
ड्राईपोर्ट भन्सारमा रहेको कण्टेनरमा सडेको अवस्थामा छोहडा फेला परेको सूचना बाहिरीदाँ भन्सार कार्यालयका सूचना अधिकारी भने सूचना दिन नमिल्ने भन्दै सूचना लुकाउन खोज्नुले थप आशंका पैदा गरेको छ ।