वीरगन्ज । आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान परियोजना कार्यान्वयनका लागि अभिमूखीकरण कार्यक्रम मंगलबार वीरगन्जमा सम्पन्न भएको छ । विश्व बैंक मार्फत जलवायु लगानी कोषको लगानी तथा समर्पित अनुदान संयन्त्रको संयोजनमा ग्रामिण पुर्ननिर्माण नेपालले आयोजना गरेको अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
जलवायु परिवर्तनका कारण हुने असर र यसको नियन्त्रणका लागि वन संरक्षणमा आदिवासी जनजाति र स्थानीय समुदायलाई सहभागिताका लागि अभिमूखीकरण कार्यक्रमको आयोजना गरिएको परियोजनाका मधेस प्रदेश संयोजक मनोज सिंहले जानकारी दिनुभयो ।
पर्साको वीरगन्ज महानगरपालिका, पटेर्वा सुगौली र जगरनाथपुरमा समुदायका लागि समर्पित अनुदान कार्यक्रम सञ्चालन प्रभावकारी बनाउनका लागि आदिवासी जनजाति सम्वद्ध संस्था, साझेदारी र सामुदायिक वनसँग सम्बद्ध र स्थानीय समुदायका व्यत्तिहरुलाई अभिमूखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
आदिवासी जनजाति र स्थानीय समुदायहरूलाई समृद्धिका लागि वन, (FFP), REDD+ वन विनास र वन क्षयबाट उत्सर्जन घटाउने), र यस्तै अन्य जलवायु परिवर्तन उन्मुख कार्यक्रमहरूमा आफ्नो संलग्नतालाई सुदृढ पार्दै साथसाथै जीविकोपार्जन, भूमि प्रयोग, सुधार गर्न योगदान पुर्याउँनका लागि मधेश र लुम्बिनी प्रदेशका वनमा निर्भर समुदायको आम्दानी बढाएर आफ्नो क्षेत्रमा दिगो वन व्यवस्थापन गर्नका लागि परियोजना सञ्चालन गर्नका लागि प्रस्तावना आह्वान गर्न पहिलो चरणमा अभिमूखीकरण सम्पन्न भएको छ ।
अभिमूखीकरणपछि अब परियोजना सञ्चालन गर्न चाहने व्यक्ति, संस्थाहरुले प्रारम्भिक चासोको फाराम भर्नुपर्ने हुन्छ । भरिएका फारामहरुको छनोटपछि पुनःप्रस्तावना आव्हान गरिने र प्रस्तावना स्वीकृत हुने व्यक्ति संस्थाहरुले परियोजना सञ्चालनका लागि ग्रमीण पुर्ननिर्माण संस्थासँग सम्झौता गरेर कार्यक्रम सञ्चालन गर्न पाउने परियोजनाकी साधना लिम्बुले जानकारी दिनुभयो ।
अभिमूखीकरणमा सहभागीहरुले परियोजना सफल बनाउनका लागि प्रस्तावना आह्वानको समयसीमा थोरै भएकोले यसलाई बढाउनु पर्ने, सामुदायिक सञ्चार माध्यमहरुलाई प्राथामिकतामा राखेर प्रचार प्रसार प्रभावकारी बनाउनुपर्ने, सरोकारवाला समुदायसँगको सहमति, सहकार्य र समन्वय निरन्तर हुनुपर्ने लगायतका सुझावहरु दिएका थिए ।
साझेदारी वन महासंघका रामरुप कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगर, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का मधेस प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगर,
आदिवासी जनजाति महासंघ जिल्ला सम्वन्वय परिषद पर्साका अध्यक्ष सोम बहादुर लामा, सदस्य छेडुप लामा, महानगर अध्यक्ष रोशनी श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष पूर्ण गुरुङ, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल उपाध्यक्ष माधव राजपाल, महासचिव आशिष लाठ, प्रशासकीय अधिकृत मनोज उपाध्याय, वीरगन्ज महानगरपालिका, पटेर्वा सुगौली, जगरनाथपुर, सुवर्ण गाउँपालिका लगायतका स्थानीय तहका वनसँग समृद्धि कार्यक्रमका कर्मचारीहरुको सहभागिता रहेको थियो ।