वीरगन्ज । अबको पत्रकारिता निकै चुनौतीपूर्ण बन्दै गएको सञ्चार सम्बद्घ वक्ताहरूले बताएका छन् । जनपत्रकार संगठन मधेस प्रदेशले सोमबार वीरगन्जमा आयोजना गरेको ‘विद्यमान परिस्थिति, नेपालको सञ्चार माध्यम र अबको निकास’ विषयक अन्तर्कृया कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन् ।
नेपालमा पछिल्लो समयमा देखा परेका भ्रष्टाचार, अनियमितताका ठूला ठूला घटनाले सञ्चार माध्यमहरू पनि तटष्थ नदेखिएको र दलालपुँजीवाद र बिचौलियाहरूको चंगुलमा पर्ने खतरा रहेको बताएका छन् ।
उनीहरूले राज्यले सुशासन कायम गर्न नसक्दा ठूला भ्रष्टाचारका काण्डहरू बाहिरिएको र ती काण्डहरू ढाकछोप गर्न सञ्चार माध्यमको प्रयोग भइरहेकोमा चिन्ता व्यक्त गर्दै स्थानीय तहहरूमा देखिएको वेथितिले झन् पत्रकारितामा चुनौती थपिएको बताएका थिए ।
जनपत्रकार संगठनका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक सुदर्शनराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपाका पूर्वी नारायणी इञ्चार्ज रक्तिम सी, पर्सा इञ्चार्ज विनोद काफ्ले, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, राजनीतिक विश्लेषक देवेन्द्रलाल नेपाली,
प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटे मगर, शिक्षक राजेन्द्र सिंह लगायतले बोलेका थिए । जनपत्रकार संगठनका अध्यक्ष शेर बहादुर विश्वकर्माले विषयवस्तुमाथि प्रकाश पार्नुभएको कार्यक्रममा स्वागत रामजी यादव र सञ्चालन जनपत्रकार संगठनका सचिवालय सदस्य शोभराज बरालले गर्नुभएको थियो ।