वीरगन्ज । नेपाल सरकारले आर्थिक बर्ष २०८०/०८१ मा प्याज र आलुमा १३ प्रतिशत भ्याट लगाउने निर्णयले महंगीएको उपभोक्ताको भान्सामा अब प्याज नपाउने भएको छ । यसअघि ४० प्रतिशत निर्यात कर लगाउदै आएको भारतले प्याज निर्यातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बिहीबार एक राजपत्र प्रकाशित गर्दै डिसेम्बर अन्तिमसम्मको प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गर्दै शनिबारबाट लागू हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।
भारतले प्याज निर्यातमा न्यूनतम मूल्य (४०) प्रतिशत तोकिएलगत्तै नेपालमा प्याजको उपभोक्ता मूल्यमा बृद्धि भएको थियो । भारतको परिमार्जित निर्णयपछि अब २०८१ वैशाखसम्म भारतीय नीतिको असर नेपाली बजारमा पर्नेछ ।
यसअघि अक्टोबर ८ मा वैदेशिक व्यापार नीतिमा संशोधन गर्दै भारतले प्याजको निर्यातमा न्यूनतम निर्यात मूल्य प्रतिमेट्रिक टन ८०० डलर तोकेको थियो । भारतीय बजारमा प्याजको मूल्यमा उल्लेख्य बृद्धि भएको भन्दै स्थानीय बजारमा मूल्यबृद्धि रोक्न भारतले यस्तो निर्णय गरेको थियो ।
भारतको निर्णयले अब नेपाली भान्सामा भारतीय प्याज पाउन मुस्किल हुनेछ । नेपाल प्याजमा परनिर्भर छ । अधिकांश प्याज भारतीय बजारबाट नै आउने गरेको छ ।
भारतबाट अहिले प्याज मात्रै होईन आलु पनि आउन बन्द भएको वीरगन्ज तरकारी तथा फलफूल व्यावसायी संघका अध्यक्ष विदुर गुप्ताले बताउनुभयो । आलु प्याज आयात हुन छोडेपछि नेपाली आलु प्याज व्यापारीहरुको पनि व्यापारमा धक्का लागेको छ ।
अहिले काठमाडौं, काभ्रे लगायतका क्षेत्रबाट अलि अलि आलु आएको भएपनि बारा पर्साको आलु बजारमा आउन अझै एकडेढ महिना लाग्ने उहाँले बताउनुभयो । प्याज अहिले नै बजारमा किलोको एकसय रुपैंया पुगेको छ । भारतबाट आउन छोडेपछि प्याजको भाउ अझ बढ्ने भएको छ ।