वीरगन्ज । जिल्ला विपद व्यावस्थापन समितिले विभिन्न निर्णयहरु गरेको छ । समितिका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार बसेको समितिको बैठकले विभिन्न ८ बुँदे निर्णय गरेको हो ।
समितिले भदौ २१ गतेदेखि मंसिर १० गतेसम्म विभिन्न समयमा भएको आगलागीबाट क्षति भएका आगलागी पीडित १३ जनालाई राहत वितरण स्वरुप १ लाख १२ हजार रुपैंया खर्च विपद व्यावस्थापन कोषबाट खर्च गर्ने निर्णय गरेको छ ।
त्यस्तै मौसम परिवर्तनसँगै शीतलहर, जाडो तथा अन्य कारणले आउने विपदको हालको अवस्था र सम्भावित जोखिमको विषयमा विश्लेषण गरेको छ । चालू आर्थिक बर्षमा शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना तयारीको अनुमोदन गर्ने र शीतलहरबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि जिम्मेवारीहरु तोकेर आपसी समन्वय गरी काम गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो ।
विपन्न गरिबहरुको पहिचान गरी राहतको लागि आवश्यक इन्धन, दाउरा, न्यानो कपडा लगायतका सामग्रीको जोहो गर्ने । यसको लागि सबै स्थानीय तह, सुरक्षा निकायका प्रहरी प्रमुखहरुलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै प्रभावित क्षेत्रमा खोज तथा उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई आवश्यक जनशक्ति व्यावस्थापनको जिम्मेवारी दिईएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी रेग्मी तीनवटै सुरक्षाअंगका प्रमुखहरु विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।