वीरगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, वीरगंजले सरकारी समर्थन मूल्यमा धान खरिद शुरु गरेपनि किसानले भने समर्थन मूल्य भन्दा बढीमा व्यापारीलाई नै धान बिक्री गर्दै आएका छन् । सरकारले यसबर्ष सोना मन्सुलीको रु ३,३६२ र जीरा मसिनोको रु ३,५०० प्रतिक्वीन्टल खरीद मूल्य तोकेको छ ।
कम्पनीले धान खरीद गर्न शुरू गरेको शुक्रबार सूचना जारी गरेको छ । तर, किसानले भने ३५०० रुपैया प्रति क्वीण्टलमा सोना मन्सुली धान व्यापारीलाई बिक्री गर्दै आएका छन् । किसानहरूले उत्पादन गरेको सोना मन्सुली र जीरा मसिनो धान सरकारी समर्थन मूल्यमा शुक्रबारदेखि खरीद कार्य शुरू गरेको कम्पनी वीरगंजका प्रमुख विकाश कटुवालले बताउनुभयो ।
प्रतिकिसान ३० क्वीन्टलसम्म धान बिक्री गर्न अनिवार्यरूपमा नेपाली नागरिकताको प्रतिलिपि र सय क्वीन्टलसम्म बिक्रीका लागि नेपाली नागरिकता, सम्बन्धित पालिकाबाट किसान प्रमाणित सिफारिश र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ल्याउनुपर्ने उहाँले बताउनुभयो । आइतवारदेखि किसानहरू धान बिक्री गर्न आउने प्रमुख कटुवालले बताउनुभयो ।