वीरगन्ज । गाजा क्षेत्रमा भइरहेको युद्धमा परेर इजरायलका एक मन्त्रीका छोराको ज्यान गएको छ । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा गाजा पट्टी क्षेत्रमा भएको लडाइँमा मारिएका बीबीसीले जनाएको छ ।
उत्तरी गाजा क्षेत्रको एक सुरुङमा बम बिस्फोट हुँदा २५ वर्षका मेजर गल इसेनकोट मारिएका इजरायलको रक्षा बल (आईडीएफ) ले जनाएको छ । विस्फोटमा परेर गम्भीर घाइते भएका इसेनकोटलाई अस्पताल लगिए पनि बचाउन नसकिएको खबरमा उल्लेख छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनाप्रति दुःख व्यक्त गर्दै इसेनकोट ‘साँच्चिकैको हिरो’ भएको बताउनुभएको छ । विस्फोटमा अर्का एक सैनिकको पनि ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
गएको अक्टोबर ७ तारिखमा इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच युद्ध शुरु भएलगत्तै पूर्वसैन्य प्रमुख गाडी इसेनकोट प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सरकारमा सहभागी हुनुभएको थियो । इजरायल र हमासबीच २ महिनादेखि भइरहेको युद्धमा परेर १६ हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।