जनकपुर । मधेस प्रदेशका उद्योगी व्यावसायीहरुले उद्योग दर्तामा गरिने प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) मन्त्रालयबाट विभाग अन्तर्गत ल्याउन माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले आज प्रदेशका मन्त्री मण्डललाई मंगलबार भेट गरेर प्रदेशमा उद्योग दर्ता गर्दा प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्यांकन प्रकृया वन तथा वातावरण मन्त्रालयबाट हटाएर उद्योग विभाग मातहत ल्याउन माग गरेका हुन् ।
भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकहरुको लागि एकीकृत भन्सार जाँचचौकी आईसीपीमा संरचना बनिसकेको भएपनि अझै यात्रुहरुलाई आईसीपीबाट आवागमन गर्न नपाएको भन्दै त्यसमा सहजीकरण गर्न आग्रह गरेका छन् ।
कृषिको सम्बन्धमा मधेस प्रदेशका ८ वटै जिल्लामा कृषि थोक बजार स्थापना गरी प्रदेशको आर्थिक रुपान्तारणका लागि मधेस प्रदेश सरकार र उद्योग वाणिज्य महासंघबीच एउटा संयन्त्र गठन गर्न सुझाव दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीको नेतृत्वमा गएको महासंघको टोलीले संस्थागत रुपमा मधेस प्रदेशका विषयगत मन्त्रीहरु र मुख्यमन्त्रीसँग भेट गरेर महासंघले लिएको ‘मधेस भिजन २०९० कार्यक्रम’ कार्यक्रम अन्तरगत शिक्षा, स्वास्थ्य, उद्योग, वाणिज्य, पर्यटन, कृषि विषयमा मधेश समृद्धि शृंखला मार्फत जनकपुरधामबाट शुरुवाट गरिसकेको जानकारी गराएका थिए ।
टोलीमा महासंघका निवर्तमान अध्यक्ष गणेश प्रसाद लाठ, रोजगारदाता समितिका सभापति हरि प्रसाद गौतम, कृषि समितिका सभापति युवराज सुबेदीलगायतले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव, भौतिक पूर्वाधार विकाश मन्त्री कृष्ण यादवलाई भेट गरेका थिए ।