हेटौडा । मुलुकको आर्थिक विकासले गति लिनका लागि नागरिकमा वित्तीय साक्षरता हुनु प्राथमिक सर्त रहेको सरोकारवालाहरुले बताएका छन् ।
नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयद्वारा सञ्चारकर्मीहरुका लागि हेटौंडामा शनिबार आयोजित एक दिने वित्तीय साक्षरता सम्बन्धी अनुशिक्षण कार्यक्रममा विज्ञहरुले नागरिकको बैंकिङ कारोबार गर्ने क्षमता अभिवृद्धि नभएसम्म देशको आर्थिक समृद्धि सम्भव नभएको धारणा राखेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका निर्देशक सुशील पौडेलले वित्तीय साक्षरताकै अभावका कारण अहिले बैंकहरुमा लगानी योग्य रकम (तरलता) थुप्रिएको तर कर्जा लिने क्षमतामा वृद्धि हुन नसकेको तर्फ ध्यानाकर्षण गराए ।
उनका अनुसार नागरिकमा वित्तीय ज्ञानको कमी हुँदा बैंकिङ पहुँच पुगेका स्थानमा समेत कर्जाको माग घट्दो क्रममा छ । निर्देशक पौडेलले आधारभूत तहसम्म बैंकिङ पहुँच पुर्याउन र सुरक्षित कारोबार सुनिश्चित गर्न पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।
मधेस प्रदेशमा पछिल्लो समय बैंकिङ अपराधको दर बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । वीरगन्ज कार्यालयमा मात्रै दैनिक ५४ वटासम्म बैंकिङ स्क्यामका उजुरीहरु आउने गरेको जानकारी दिँदै निर्देशक पौडेलले यसलाई न्यूनीकरण गर्न वित्तीय साक्षरता अनिवार्य रहेको बताए ।
उनले वर्तमानको आर्थिक नियन्त्रण, समयमै बिल भुक्तानी, र ऋणको भारबाट मुक्त हुनु नै वित्तीय कल्याणको पहिलो आधार भएको स्पष्ट पारे । भविष्यका लागि बचत, स्वास्थ्य बीमा, र आपतकालीन कोष जस्ता सुरक्षाका उपायले मानिसलाई अनपेक्षित संकटबाट जोगाउनुका साथै आर्थिक स्वतन्त्रता सुनिश्चित गर्ने उनको तर्क थियो ।
अनुशिक्षणमा बैंकका सहायक निर्देशक विनय केशरीले बैंकिङ कारोबारका प्राविधिक र व्यावहारिक पक्षबारे जानकारी गराउँदै नक्कली नोटबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरे ।
उनले मुद्रास्फीति र विनिमय दरलाई आधार मानेर मात्र खरिदका निर्णयहरु लिनुपर्ने र अनलाइन वेबसाइटहरु प्रयोग गर्दा तिनको विश्वसनीयता यकीन गर्न सुझाव दिए । विशेषगरी अनलाइनमा आउने लोभलाग्दा अफरहरुबाट बच्न र विना योजना सामान खरिद गर्ने बानी त्याग्न उपभोक्तालाई सचेत गराइएको छ ।
कार्यक्रममा सेवाको कुल लागत तुलना गर्ने क्षमता विकास, बैंक खाताको नियमित जाँच, र कागजातमा हस्ताक्षर गर्नुअघि विज्ञको सल्लाह लिनुपर्नेमा जोड दिइएको थियो ।
वस्तु खरिद गर्दा त्यसको उत्पत्ति र वातावरणीय प्रभाव जस्ता सुशासनका पक्षमा ध्यान दिन समेत बैंकले आग्रह गरेको छ । पर्सा, बारा, रौतहट, मकवानपुर र चितवनका ९० जना पत्रकार तथा कर्मचारी सहभागी रहेको उक्त कार्यक्रमले बैंक र सञ्चारकर्मीबीचको सम्बन्धलाई थप मजबुत बनाउने सहायक निर्देशक नरेश सर्राफले विश्वास व्यक्त गरे ।
