वीरगन्ज । पर्सा जिल्लाबाट निर्वाचित दुईजना प्रतिनिधिसभा सदस्यहरु उद्योग तथा वाणिज्य र श्रम तथा उपभोत्ता हित समितिको सदस्यमा मनोनित भएका छन् ।
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि) र क्षेत्र नम्बर ४ बाटा निर्वाचित सांसद टेक बहादुर शाक्य (अञ्जन) संघीय संसदले गठन गरेको विषयगत समिति उद्योग तथा वाणिज्य र श्रम तथा उपभोत्ता हित समितिको सदस्यमा मनोनित भएका हुन् ।
प्रतिनिधिसभाको बैठक सुरु भएको ८ दिनमै सबै संसदीय समिति गठन भएको छ । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन् । ती समिति यसअघि नै गठन भइसकेका छन् ।
प्रतिनिधिसभा अन्तर्गत १० वटा विषय समिति रहन्छन् । बाँकी दुई वटा संयुक्त समिति रहेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यी सबै समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए ।
जसलाई सभाले स्वीकृत गरेको छ ।संघीय संसद सचिवालयले आज प्रकाशित गरेको नामावली अनुसार पन्त र शाक्यको नाम उद्योग तथा वाणिज्य र श्रम तथा उपभोत्ता हित समितिमा परेको हो । समितिका दुवैजना सांसद व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् ।
उनीहरुको व्यावसायिक अनुभवले विषयगत समितिमा कानून, नीति निर्माणमा महत्वपूर्ण योगदान रहने विश्वास गरिएको छ ।
