वीरगन्ज । वीरगंज महानगरपालिका वडा नं–८ को नवनिर्मित वडा कार्यालय भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका हुन् ।
महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा टेण्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको थियो । सो टेण्डर एसडी कन्स्ट्रक्सनले प्राप्त गरी करिब ७९ लाख रुपैयाँको लागतमा भवन निर्माण कार्य सम्पन्न गरेको हो ।
निर्माण सम्पन्न भएसँगै अब वडा कार्यालयले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ । नवनिर्मित भवन दुई तले पक्की संरचनामा तयार गरिएको छ ।
यसअघि वडा कार्यालयको आफ्नै भवन नभएकाले विद्यालयको कोठाबाट सेवा सञ्चालन हुँदै आएको थियो, जसका कारण सेवाग्राहीले विभिन्न समस्या भोग्दै आएका थिए ।
अब भने नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास लिइएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख राजेशमान सिंहले नयाँ भवन निर्माणसँगै वडा स्तरबाट प्रदान गरिने सेवा अझ सहज, छिटो र प्रभावकारी हुने बताए ।
उनले स्थानीय तहको सुदृढीकरणका लागि भौतिक पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता पूर्वाधार निर्माणलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, विभिन्न वडाका वडा अध्यक्षहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
