वीरगन्ज । सरकारले निजी सञ्चार माध्यमहरुमा सरकारी विज्ञापन प्रकाशनमा रोक लगाएको विरोधमा नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले त्यसको विरोधमा दबावमूलक छलफल अभियान शुरु गरेको छ ।
पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय अनुसार पर्सा शाखाले बिहीबार पर्साका दैनिक तथा साप्ताहिक पत्रपत्रिका, अनलाईन, एफ.एम.रेडियो, टेलिभिजनका सञ्चालक, प्रकाशक, सम्पादक तथा संवाददाताहरुसँग छलफल गरेको छ ।
महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा अहिलेको सरकारले संविधान विपरित प्रेस स्वतन्त्रताको हनन् गर्ने काम गरेको निष्कर्ष निकालेको छ ।
छलफलमा सहभागीहरुले निजीक्षेत्रका सञ्चार माध्यमहरुलाई विज्ञापन नदिने सरकारी नीतिको विरोध गर्दै पहिले पनि बिचौलियाहरुको रजगजमा विज्ञापन सीमित सञ्चार माध्यमहरुमा मात्रै जाने गरेकोमा अहिले अलि अलि आउने गरेको विज्ञापनलाई पनि सरकारले गरेको निर्णयले रोकिएपछि निजी सञ्चार क्षेत्र संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
राज्यको कानूनले निर्धारण गरेको मापदण्ड अनुसार सञ्चार माध्यमहरु दर्ता गरेर सञ्चालनमा ल्याईएको भएपनि अहिले आएर राज्य निरंकुश शैलीमा अगाडि बढेको भन्दै सरकारको निर्णय नसच्याए अझ सशक्त आन्दोलन गर्ने बताएका छन् ।
उनीहरुले सरकारले सञ्चारमाध्यमको आवाजलाई नसुने सबै तालाचाबी सरकारलाई जिम्मा लगाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे मगर, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज तुलसी भण्डारी,
नेपाल पत्रकार महासंघका मधेस प्रदेश अध्यक्ष दीपक गौतम, समाजवादी प्रेस र्सगठन नेपाल मधेस प्रदेशका अध्यक्ष मनोज पटेल लगायत विभिन्न सञ्चार माध्यममा आवद्ध प्रकाशक, सञ्चालक तथा सम्पादकहरुले आ–आफ्ना धारणा राखेका थिए ।
उनीहरुले पत्रकारहरुको हकहित र सञ्चार मध्यमको विकास र सम्वद्र्धनका लागि महासंघले चालेको कदम स्वागतयोग्य रहेको बताउदै यसमा सबैको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले गरेका थिए ।
