जनकपुरधाम । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको एशोसिएट उपाध्यक्षमा वीरगन्जका सञ्जय अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।
चैत २४ गते हुने नयाँ नेतृत्वका लागि भएको उम्मेदवारी मनोनयनमा एशोसिएटतर्फको उपाध्यक्षमा अग्रवालको एकल उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित हुने भएको छ ।
त्यस्तै कोषाध्यक्षमा पनि रवीन्द्रनाथ गोपालीको एकल उम्मेदवारी परेको छ । उनीपनि निर्विरोध नै हुनेछन् । यद्यपि निर्वाचन अधिकृतले आधिकारिक घोषणा भने गर्न बाँकी छ । महासंघ मधेस प्रदेशको अध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ ।
ललित कुमार साह र विजय कुमार साहले अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै जिल्लारनगरको उपाध्यक्षमा राजकुमार साह र विजय कुमार साहको उम्मेदवारी परेको छ ।
कार्यकारिणी सदस्य (जिल्ला/नगर) तर्फ विनोद कुमार साह, सूर्यनारायण यादव र भरत महासेठले मनोनयन दर्ता गराएका छन् भने एशोसिएटतर्फको सदस्यमा टिबी ट्रेडिङ्ग कन्सर्नको उम्मेदवारी परेको प्रदेश निर्वाचन अधिकृत सुदीप कुमार कोईरालाले जानकारी दिए ।
प्रदेशको अध्यक्षमा वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल अग्रवालले पनि अध्यक्षमा दावी गर्ने चर्चा रहेपनि उनले निर्वाचन समितिले तोकेको मनोनयन दर्ताको मितिसम्म उम्मेदवारी दर्ता गराएनन् ।
अशोक टेमानी नेतृत्वको दुईबर्षे कार्यकाल सकिनै लागेकोले नयाँ नेतृत्वका लागि चैत २४ गते निर्वाचन हुन लागेको हो । नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनको संघारमा सबै नगर, जिल्ला प्रदेश उद्योग वाणिज्य संघहरुमा धमाधम अधिवेशन र निर्वाचन भईरहेको छ ।
निर्वाचन तालिका अनुसार चैत २० गते प्रदेश कार्यालयमा मतदाता नामावाली प्रकाशन गरिसकेको छ । २२ गते बिहान ११ बजे मतदाता नामावली उपर दावी विरोध र दिउँसो १ बजे अन्तिम नामावली प्रकाशन गरिने छ ।
चैत २२ गते नै साँझ ५ बजेसम्म उम्मेदवार उपर दावी विरोध तथा २३ गते साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । २४ गते भने साँझ ४ बजेदेखि ६ बजेसम्म मिथिल्ला वंक्वेट प्रालि क्याम्पस चोकमा मतदान हुने महासंघ मधेस प्रदेशका कार्यकारी निर्देशक प्रदीप दत्तले जानकारी दिए ।
