वीरगन्ज । आफ्नै श्रीमतीमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका एक व्यक्तिलाई घटना भएको दुई सातापछि जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।
पर्सागढी नगरपालिका वडा नं.३ बिरुवा टोल बस्ने ३० वर्षीय विश्वनाथ सहनीलाई प्रहरीले आइतबार दिउँसो उनकै गाउँबाट नियन्त्रणमा लिएर दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
घटना विवरण अनुसार गत चैत १ गते बिहान करिब ८ः३० बजे घरायसी विवादका क्रममा विश्वनाथले २५ वर्षीया श्रीमती हरिकला देवी सहनीमाथि योजनाबद्ध रूपमा दाउ प्रहार गरेका थिए। क्रुर र अमानवीय ढंगले गरिएको उक्त आक्रमणबाट हरिकलाको बायाँ खुट्टा काटिएको र उनी क्षतविक्षत अवस्थामा फेला परेकी थिइन्। श्रीमतीलाई रक्ताम्मे अवस्थामा छाडेर विश्वनाथ घटनास्थलबाट तुरुन्तै फरार भएका थिए।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र स्थानीयको सक्रियतामा घाइते महिलालाई उद्धार गरी उपचारका लागि बाराको परवानीपुरस्थित एल.एस. न्यूरो एण्ड जेनेरल हस्पिटल पठाइएको थियो। उनको अवस्था गम्भीर रहेकाले तत्कालै उपचार प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।
घटनापछि फरार भई लुकिछिपी बस्दै आएका विश्वनाथलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोली र प्रहरी चौकी बडनिहारको संयुक्त टोलीले चैत १४ गते दिउँसो साढे १२ बजे पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।
अत्यन्तै पासविक र क्रुर तरिकाले विश्वनाथले श्रीमतीलाई हातखुट्टा बाँधेर खुट्टा अचानोमा राखी दाउले प्रहार गरी फरार भएपछि सामाजिक सञ्जालमा भिडियो भाईरल भएको थियो । उक्त घटनामा राष्ट्रिय महिला आयोगले समेत चासो देखाएको थियो । वर्तमान गृहमन्त्री सुधन गुरुङले पनि मन्त्री नियुक्त हुनु अघि नै चासो व्यक्त गर्दै घटनाको बारेमा गहिरो अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
त्यसपछि प्रहरीले थालेको अपरेशनमा पर्सागढी नगरपालिकाकै बडनिहार जंगलमा खोजतलास गर्दा फरार विश्वनाथलाई फेला पारेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका सहनीमाथि ज्यान मार्ने उद्योग तथा कुटपिट अंगभंग सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
