वीरगन्ज । पर्सा जिल्लाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले निजीक्षेत्रमैत्री कानून निर्माण र लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको नवनिर्वाचित सांसदहरुको स्वागत तथा सम्मान कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सम्मान कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धि प्रसाद पन्त (हरि) ले आफू पनि व्यावसायिक पृष्ठभूमिबाट आएकाले उद्योगी व्यवसायीहरुको समस्या र मर्म बुझेको बताए ।
उनले निजीक्षेत्रले लामो समयदेखि माग गर्दै आएको उधारो कानून संसदबाट पास गराउन आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाए । अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईतिहाइको सरकारले सुशासन सहित विकास अगाडि बढाउने दाबी गर्दै उनले निजीक्षेत्रमैत्री कानून र लगानीमैत्री वातावरणका लागि आफ्नो सकारात्मक भूमिका रहने स्पष्ट पारे ।
पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानूले सरकारी कार्यालयहरुमा हुने बिचौलिया र दलालहरुको बेथिति अब अन्त्य हुने दाबी गरे । त्यस्तै, क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसियाले पर्साबाट निर्वाचित सबै सांसदहरु व्यावसायिक क्षेत्रसँग जोडिएकाले कानून निर्माणमा प्रभावकारी भूमिका खेल्ने बताए ।
पर्सा क्षेत्र नम्बर ४ का सांसद टेक बहादुर शाक्यले स्थायी सरकार निर्माण भएपछि दिगो विकासलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले वैदेशिक लगानी भित्र्याउन र लगानी बढाउन आवश्यक रहेको बताउँदै समृद्ध वीरगन्ज विना ठोरीमा पनि सकारात्मक प्रभाव नआउने उल्लेख गरे ।
आफ्नो वाचापत्र र निजीक्षेत्रको भावना समान रहेको बताउँदै उनले विज्ञसहितको टोलीको सुझावमा बन्ने आर्थिक नीतिले देशको मुहार फेर्ने विश्वास व्यक्त गरे । पर्यटन र जलविद्युतले नै देशको आर्थिक विकास हुने बताउँदै उनले ठोरीलाई पर्यटनको हब बनाउन लगानी सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिए ।
वीरगन्जको भन्सार चाप घटाउन भिस्वा र ठोरीको भन्सार स्तरउन्नती गरि निकुञ्ज छिचोलेर चितवनसँग जोड्ने योजना रहेको बताउँदै उनले खुला सीमालाई मर्यादित नाका बनाइने र निजीक्षेत्रमैत्री वातावरण तयार गरिने बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष माधव राजपालले आगामी सरकारले वीरगन्ज र यस आसपास क्षेत्रमा गर्नुपर्ने विकासका कार्यहरु समेटिएको क्षेत्रगत कार्यपत्र प्रस्तुत गरेका थिए ।
सहभागी उद्योगी व्यवसायीहरुले निजीक्षेत्र र व्यवसायीको आत्मसम्मान हुने गरी कानून निर्माण गर्न सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन महासचिव शिवजी प्रसाद कलवारले गरेका थिए भने संघका उपाध्यक्ष आशिष लाठले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।
