पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा शनिबार बेलुकी भएको ट्रिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
लु२ख ४५२५ नम्बरको खाली ट्रिपर झडेवाबाट रहबास चुनढुङ्गा खानीतर्फ जाँदै गर्दा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक र रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली रहेका छन् ।
त्यस्तै, दुर्घटनामा गम्भीर घाइते भएका पाल्पाको तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) होमप्रकाश चौधरीले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ । कच्ची र साँघुरो सडकका कारण ट्रिपर अनियन्त्रित भई खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
