वीरगन्ज । मध्यपूर्वमा बढ्दै गएको तनाव र युद्धका कारण हवाई क्षेत्रमा ठूलो अवरोध देखिएको छ। सोमबार लण्डनबाट दुबईका लागि उडेको इमिरेट्स एयरलाइन्सको उडान नम्बर EK10 साउदी अरबको आकाशमा पुगेपछि पुन: लण्डनतर्फै फर्किएको छ। दुबई विमानस्थलमा ड्रोन आक्रमण भएको खबर सार्वजनिक भएपछि सुरक्षाका कारण विमानलाई बीच बाटोबाटै फर्काइएको हो।
हवाई उडानको तथ्याङ्क अनुसार उक्त विमानले ९,१०० किलोमिटर (६,१५० माइल) को यात्रा तय गरे पनि गन्तव्यमा पुग्न सकेन। यसलाई सामाजिक सञ्जालमा “कतै नपुग्ने उडान” (Flight to Nowhere) को संज्ञा दिइएको छ। सोही दिन दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा भएका इरानी ड्रोन आक्रमणका कारण विश्वकै व्यस्त मानिने यस विमानस्थललाई केही समयका लागि बन्द गरिएको थियो।
यस घटनाका कारण इमिरेट्सका करिब ३० वटा उडानहरू कि त बीच बाटोबाटै फर्किएका छन् वा अन्यत्रै डाइभर्ट गरिएका छन्। मध्यपूर्वमा फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वका कारण हालसम्म हजारौँ उडानहरू रद्द भइसकेका छन्, जसले गर्दा हजारौँ यात्रुहरू अलपत्र परेका छन्।
रोयटर्सको पेजबाट
