वीरगन्ज । विगत दुई हप्तादेखि भूमध्य सागरमा अलपत्र परेको एउटा क्षतिग्रस्त रुसी तरल प्राकृतिक ग्यास (एलएनजी) ट्याङ्कर अहिले लिबियाको खोजी तथा उद्धार क्षेत्रमा प्रवेश गरेको इटालीको नागरिक सुरक्षा निकायले बुधबार जानकारी दिएको छ।
सो जहाजलाई नजिकबाट नियालिरहेको उक्त निकायका अनुसार अहिलेको सबैभन्दा ठूलो जोखिम ग्यास चुहावट हुन सक्ने सम्भावना हो, यद्यपि हालसम्म कुनै चुहावट भने फेला परेको छैन।
एजेन्सीका प्रवक्ताले दुईवटा ट्याङ्कहरू सुरक्षित रहेको रिपोर्ट आए पनि जहाजमा कति ग्यास बाँकी छ भन्ने कुरा अझै स्पष्ट नभएको बताउँदै ग्यास फैलिन सक्ने ठोस सम्भावना रहेको उल्लेख गरेका छन्। केही कार्गो पहिले नै समुद्रमा मिसिएको हुनसक्ने अनुमान पनि गरिएको छ।
इटाली, फ्रान्स र स्पेन लगायत नौवटा दक्षिण युरोपेली युनियनका देशहरूले युरोपेली आयोगलाई पत्र लेख्दै ‘आर्कटिक मेटागाज’ नामक यो जहाजले ठूलो वातावरणीय खतरा निम्त्याउन सक्ने चेतावनी दिएका छन् र यस विषयमा तत्काल कदम चाल्न आग्रह गरेका छन्।
इटालीको नागरिक सुरक्षा निकायका अनुसार जहाज अहिले लिबियाको अधिकार क्षेत्रमा पुगेकाले कुनै पनि हस्तक्षेपको जिम्मा अब लिबियाकै हुनेछ, जहाँ हाल समुद्रको अवस्था निकै खराब रहेको छ।
युरोपेली संघले उक्त जहाजलाई सन् २०२२ मा युक्रेनमाथि गरिएको पूर्ण स्तरको आक्रमणपछि रुसमाथि लगाइएको प्रतिबन्ध छल्न प्रयोग गरिने रुसको ‘छाया फ्लिट’ हिस्सा भएको बताएको छ।
रुसी विदेश मन्त्रालयले जहाज भूमध्य सागरमा अलपत्र परेको स्वीकार गर्दै यस स्थितिको समाधानमा मस्कोको संलग्नता ‘ठोस परिस्थिति’ मा भर पर्ने बताएको छ।
स्रोत : रोयटर्सको पेजबाट
