वीरगन्ज— शारीरिक स्वास्थ्य र सचेतना जगाउने उद्देश्यका साथ शनिबार वीरगन्जमा भव्य ‘वाकाथुन’ (पैदल यात्रा) सम्पन्न भएको छ। युवा उद्यमी मञ्च (एनवाईइएफ) वीरगन्जको आयोजनामा भएको यो कार्यक्रमले नगरबासीलाई स्वस्थ जीवनशैली अपनाउन सन्देश दिएको छ।
उक्त पैदल यात्रा वीरगन्जको ऐतिहासिक गहवामाई मन्दिर परिसरबाट प्रारम्भ भएको थियो। सहभागीहरूले नगरको मुख्य सडक, मकालु होटल चोक र घडिअर्वा चोक हुँदै पुनः माईस्थान पुगेर यात्रा समापन गरेका थिए।
कार्यक्रमबारे जानकारी दिँदै एनवाईइएफ वीरगन्जका अध्यक्ष अभिषेक प्रताप साहले व्यस्त दैनिकीका बीच शारीरिक स्फूर्तिका लागि पैदल यात्राको महत्त्व दर्शाउन यो कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका पूर्व मेयर एवं नेकपा एमालेका केन्द्रीय सदस्य विजय कुमार सरावगी, वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, सहसचिव अनुप अग्रवाल र प्रभु हस्पिटलका सञ्चालक डा.मनोज गुप्ता लगायत विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू रहेका थिए ।
