हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताहरूको आक्रमणबाट एक प्रहरी अधिकारीसहित दुईजना घाइते भएका छन्।
गएराति प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि लागुऔषध सेवनकर्ताहरूले बञ्चरो प्रहार गरेका थिए। आक्रमणबाट तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।
आक्रमणकारीलाई नियन्त्रणमा लिन र आत्मरक्षाका लागि प्रहरीले एक राउन्ड गोली चलाएको थियो। गोली लागेर हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौँडा निवासी १९ वर्षीय सनिस घाइते भएका छन्। दुवै घाइतेको हाल हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा हेटौँडा–१२ का २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
