दमक, झापा | झापा क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका दाबेदार बालेन शाह (बालेन्द्र) भारी मतान्तरले विजयी भएका छन्। मतगणनाको अन्तिम नतिजा अनुसार बालेनले ६८,३४८ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्।
उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पछि पार्दै बालेनले यो सफलता हात पारेका हुन्। एमालेको ‘अभेद्य किल्ला’ मानिने झापा–५ मा बालेनको यो जितलाई नेपाली राजनीतिकै एक ठूलो ‘ऐतिहासिक उलटपुलट’ का रूपमा हेरिएको छ।
जित सुनिश्चित भएलगत्तै बालेन शाह मतगणनास्थल पुगेका थिए। उनलाई देखेपछि समर्थकहरूले ‘विजयको नारा’ लगाउँदै खुसीयाली मनाएका छन्। अत्यधिक भिड र सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै मतगणनास्थल र आसपासको क्षेत्रमा नेपाली सेनाले कडा सुरक्षा पहरा दिइरहेको छ।
यो जितसँगै बालेन शाहको संसदीय यात्रा औपचारिक रूपमा सुरु भएको छ भने रास्वपाले केन्द्रमा आफ्नो बलियो उपस्थितिको संकेत दिएको छ।
