काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूलाई आफ्नो निर्वाचन घोषणापत्र फागुन ३ गतेभित्र सार्वजनिक गरी आयोगमा बुझाउन निर्देशन दिएको छ। मंगलबार (माघ २७) बसेको आयोगको बैठकले निर्वाचन आचारसंहिता २०७९ को प्रभावकारी कार्यान्वयनका लागि यस्तो निर्णय गरेको हो।
आचारसंहिताको दफा ३७ को बाध्यकारी व्यवस्था आयोगका अनुसार निर्वाचन आचारसंहिता २०७९ को दफा ३७ बमोजिम दलहरूले आफ्नो घोषणापत्र अनिवार्य रूपमा आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ। आचारसंहितामा दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गरेर त्यसकै आधारमा मात्र चुनाव प्रचारप्रसार गर्नुपर्ने व्यवस्था छ।
यसपटक आयोगले घोषणापत्रलाई केवल चुनावी औपचारिकतामा मात्र सीमित नराख्ने संकेत गरेको छ। आचारसंहितामा उल्लेख भएअनुसार दलहरूले आफ्नो घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धताहरूको प्रगति प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्नेछ। घोषणापत्र सार्वजनिक नगरी वा आयोगमा पेस नगरी प्रचारप्रसार गर्न पाइने छैन।
प्रचारप्रसार र निर्वाचनको कार्यतालिका आयोगका अनुसार आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। निर्वाचनका लागि प्रचारप्रसारको अवधि फागुन ४ देखि १८ गतेसम्म तोकिएको छ। प्रचारप्रसार सुरु हुनुभन्दा एक दिन अगावै (फागुन ३ गतेभित्र) सबै दलले अनिवार्य रूपमा घोषणापत्र पेस गरिसक्नुपर्ने आयोगले जनाएको छ।
हालसम्म अधिकांश दलहरूले घोषणापत्र सार्वजनिक नगरेको पाइएपछि आयोगले यो निर्देशन जारी गरेको हो। आयोगले तोकिएको समयभित्र घोषणापत्र नबुझाउने वा आचारसंहिता उल्लंघन गर्ने दल र उम्मेदवारमाथि कारबाही गरिने चेतावनी समेत दिएको छ।
