वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय स्थित सुख्खा बन्दरगाह (आईसीडी) तर्फ रेलमार्गबाट हुने मालसामान ढुवानीमा भइरहेको चरम ढिलाइले उद्योग व्यवसाय धराशयी बन्न लागेको भन्दै उद्योगीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरूलाई पत्र लेख्दै यस समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग उच्चस्तरीय समन्वय र कूटनीतिक पहल गर्न माग गरेका हुन् ।
विगत तीन महिनादेखि भारतको कोलकाता र विशाखापट्टनम बन्दरगाहमा मालसामान लोड गर्न नै अस्वाभाविक समय लाग्ने गरेको र लोड भइसकेका रेलका रेकहरू पनि बीच बाटोमै बिनाकारण धेरै दिनसम्म रोकिने गरेको गुनासो पत्रमा गरिएको छ।
कतिपय अवस्थामा रेलहरू रक्सौल–वीरगञ्ज नाकाको नजिकै आइपुग्दा समेत लामो समयसम्म रोकिँदा आयातकर्ताहरूले ठूलो सास्ती खेप्नुपरेको छ। यस प्रकारको ढिलाइले नेपाली उद्योगहरूका लागि आवश्यक कच्चा पदार्थ समयमै उपलब्ध हुन नसक्दा उत्पादन प्रक्रिया नै ठप्प हुने अवस्था सिर्जना भएको व्यावसायीहरुको भनाई छ।
ढुवानीमा भएको अवरोधले गर्दा उद्योगहरूको उत्पादन लागत बढ्न गई बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धी क्षमता घट्दै गएको र आपूर्ति शृङ्खलामा समेत अस्थिरता उत्पन्न भएको गौतमले उल्लेख गरेका छन् ।
उनले कोलकाताबाट लोड भएको रेल ३ देखि ४ दिनभित्र र विशाखापट्टनमबाट ६ देखि ७ दिनभित्र वीरगञ्ज आइपुग्ने व्यवस्था मिलाउन भारतीय रेल्वे विभागसँग उच्च तहमा पत्राचार गर्न आग्रह गरेका छन् ।
यस विषयमा दिल्लीस्थित नेपाली राजदूतावास र कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई समेत बोधार्थ दिँदै अविलम्ब पहल गर्न अनुरोध गरिएको छ। समयमै ठोस कदम नचालिए समग्र राष्ट्रिय अर्थतन्त्रमा थप नकारात्मक प्रभाव पर्ने भन्दै उद्योगीहरूले चिन्ता व्यक्त गरेका छन्।
