वीरगन्ज । प्याब्सन पर्साको आयोजनामा सञ्चालित १० औं प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिताको उपाधि मुनलाईट माविले जितेको छ।
शनिबार वीरगन्जमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा साविक विजेता मुनलाईटले सनलाईट माविलाई ३ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो।
गत माघ ८ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका ४० विद्यालयहरूको सहभागिता रहेको थियो। फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सनलाईट मावि १८.५ ओभरमा मात्र ६६ रनमा समेटिएको थियो।
६७ रनको सामान्य लक्ष्य पछ्याएको मुनलाईटले १२.५ ओभरमा ७ विकेट गुमाउँदै ७० रन बनाएर जित पक्का गरेको हो। मुनलाईटको जितमा महत्वपूर्ण २९ रन जोडेका दिलराज यादव ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगितामा सेन्ट जेभियर्स माविले तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा सेन्ट जेभियर्सले गोल्डेन फ्युचर स्कुललाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्यो।
गोल्डेन फ्युचरले दिएको ४१ रनको लक्ष्य सेन्ट जेभियर्सले मात्र ६ ओभरमा १ विकेट गुमाउँदै पुरा गरेको थियो। उक्त खेलमा महमद आसिफ अली म्यान अफ द म्याच भए।
त्यसैगरी, क्वार्टरफाइनलबाट बाहिरिएका टोलीहरूबीचको प्रतिस्पर्धामा गौतम मावि ‘प्लेट च्याम्पियन’ बन्यो भने बएमइएस माविले ‘फेयर प्ले टिम’ को अवार्ड प्राप्त गरेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए।
व्यक्तिगत विधातर्फ मुनलाईटका दिलरञ्जन यादव ‘प्लेयर अफ द सिरिज’ चुनिए। गोल्डेन फ्युचरका निरञ्जन यादव उत्कृष्ट बलर, मनकामना माविका अब्बुबक्कर समानी उत्कृष्ट ब्याट्सम्यान, मुनलाईटका अनुप कुँवर उत्कृष्ट किपर र साउथ जोनका प्रिन्स यादव ‘उदीयमान खेलाडी’ घोषित भए। उत्कृष्ट खेलाडीहरूले ट्रफी, क्याप र नगद ३ हजार रुपैयाँ पुरस्कार पाए।
विजेता टोलीले नगद १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुने टोलीले ५ हजार रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरे। प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रदेश प्रहरी कार्यालय वीरगन्जका प्रहरी बरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण लगायत प्याब्सनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारीहरुले पुरस्कार वितरण गरेका थिए ।
