कोलकाता । तेस्रो मुलुकसँगको व्यापारका लागि पारवहन सेवा प्रयोग गर्दै आएको भारतको पश्चिम बंगालस्थित कोलकता बन्दरगाहले नेपाली आयातकर्ताहरूलाई फकाउने रणनीति बनाएको छ।
तेस्रो मुलुकबाट आयात गरिएका मालवस्तुहरू समुद्रमार्गबाट भारतको कोलकता हुँदै सिधा रेलमार्ग मार्फत वीरगन्ज भन्सार (सुक्खा बन्दरगाह) मा ल्याउने गरिएको छ।
शुरूदेखि कोलकता बन्दरगाह मात्रै प्रयोग गर्दै आएका नेपाली आयातकर्ताका लागि भारतकै आन्ध्र प्रदेशस्थित विशाखापट्टनम समुद्री बन्दरगाह पनि खुला भएपछि विकल्पको रूपमा नेपाली आयातकर्ताहरू विशाखापट्टनमतर्फ जान थालेका थिए।
कोलकता बन्दरगाहको व्यापार विशाखापट्टनमतर्फ स्थानान्तरण भएपछि अहिले आकर्षक सुविधासहित नेपाली आयातकर्ताहरूलाई कोलकता बन्दरगाहमा फर्काउने रणनीतिमा कोलकता बन्दरगाह लागेको छ।
नेपालको पारवहनमा ८० प्रतिशत सेवा कोलकता बन्दरगाहबाटै हुने गरेको छ। नेपालसँगको दूरीको हिसाबले पनि कोलकता वीरगन्जबाट ७०० किलोमिटरको दूरीमा रहेको छ। तर, कोलकता बन्दरगाहबाट आयात गर्दा कागजी प्रक्रियामा समेत झन्झट हुने गरेको आयातकर्ताहरूले गुनासो गर्दै आएका छन्।
विशाखापट्टनम बन्दरगाह दूरीको हिसाबले १४०० किलोमिटर दूरीमा रहे पनि ठूला जहाजबाट सिधैं रेलवे -याकमा अनलोड गरेर वीरगन्जको सुक्खा बन्दरगाहमा ल्याउन सहज हुने भएकोले समयको बचतका लागि नेपाली आयातकर्ताहरूले कन्टेनर कार्गो विशाखापट्टनमबाट आयात गर्न थालेका थिए।
त्यसलाई फर्काउन कोलकतास्थित श्यामा प्रसाद मुखर्जी पोर्ट (बन्दरगाह) ले नेपालतर्फ आउने कार्गोलाई आकर्षक सुविधा थप गर्नुका साथै पूर्वाधार समेत विस्तार गर्न थालेको कोलकतास्थित श्यामा प्रसाद मुखर्जी पोर्टका टर्मिनल मेनेजर रविशंकर राजहंसले बताए।
उनले भने, ुकोलकता बन्दरगाह विशेषतः नेपाली कार्गोका लागि नै केन्द्रित हो। भारतकै पुरानो पोर्ट पनि भएकोले नयाँ आधुनिक मेशिनहरूको प्रयोगबाट कार्गो कन्टेनरहरू लोडअनलोड गर्न थालिएको छ।
कन्टेनर लोड अनलोड गर्ने क्रेनहरू (आरटीसी, आरएमक्यूसी, मोबाइल हार्बर क्रेन) लगायतका मेशिनहरू थप गरेका छौं। जहाज रोक्ने बर्थ पनि थप गरेका छौं।” उनका अनुसार जति नेपालका आउँछन् त्यसलाई जतिसक्दो चाँडो पठाउने गरिएको छ।
नेपालको व्यापारलाई नै प्राथमिकतामा राखेर पोर्ट सञ्चालन गरिएको टर्मिनल मेनेजर राजहंसको भनाई छ। तर, डर्टी कार्गो (खुला मालवस्तु) हरू भने हल्दिया बन्दरगाहबाटै ल्याउने गरिएको छ। विशाखापट्टनमबाट नेपाली कार्गो आयातलाई फर्काउन कोलकताले ‘एक देश, एक डकुमेन्ट, एक प्रणाली’ को रणनीति लिएको उनले बताए।
नेपाली आयातकर्ताहरूले कोलकता पोर्टमा जस्तो अन्य पोर्टमा सुविधा र सहुलियत नपाउने पनि पोर्टका मेनेजर प्रशान्त कुमारको जिकिर छ। कोलकता पोर्ट नेपालकै व्यापारका लागि रहेकोले आफूहरूलाई मुनाफा नचाहिने भन्दै नेपालको हरेक व्यापारमा सहजीकरण गर्न तयार रहेको उनीहरूको भनाई छ।
नेपालको कन्साईन्मेण्टले आयात गरेको मालवस्तु सुरक्षितसाथ गन्तव्य ९नेपाल० सम्म पठाउन पनि अत्यन्तै गम्भीर रूपमा कन्टेनर ह्याण्डलिङ गर्ने गरिएको बन्दरगाह व्यवस्थापनको भनाई छ।
साथै कोलकतास्थित भारतीय भन्सार कार्यालयले पनि सहजीकरण गर्ने गरेको राजस्व विभागका डेपुटी कमिश्नर साङ्गे छिरिङ्ग भुटियाले बताए।
कोलकता बन्दरगाहमा कन्टेनर समयमा नछोड्ने गुनासो नेपाली आयातकर्ताहरूले गर्दै आएको भए पनि त्यसलाई अस्वीकार गर्दै बन्दरगाहकै कारण कन्टेनरहरू रोकिएको अवस्था नरहेको उनले पनि जिकिर गरे।
नेपालको कन्साईन्मेन्टमा आएको सामान बन्दरगाहमा क्षति हुने अवस्था देखिए त्यसलाई थप सुरक्षित पठाउनलाई सहजीकरण गर्ने गरिएको भुटियाको दावी छ।
