वीरगन्ज। देशको प्रमुख भन्सार नाका वीरगन्जस्थित सुख्खा बन्दरगाह (ड्राईपोर्ट) मा लामो समयदेखि १८५ वटा कन्टेनरमा रहेका बेवारिसे मालवस्तु थन्किएका छन्।
२०७६ सालमै कोरोना महामारीअघि तेस्रो मुलुकबाट आयात गरिएका यी सामानको जिम्मेवार व्यक्ति वा कम्पनी फेला नपरेपछि राज्यको तत्काल निर्णयको अभावमा वीरगन्ज भन्सार कार्यालयमा अलपत्र परेका हुन्।
प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद ज्ञवालीका अनुसार, तत्कालिन ड्राईपोर्ट भन्सारमा आएका २२० कन्टेनरमध्ये हालसम्म १७ वटाको लिलाम बिक्री भएको र तीनवटा कन्टेनर फिर्ता पठाइएको छ। यस्तै, १४ वटा कन्टेनर फिर्ता पठाउने प्रक्रियामा रहेको छ।
बाँकी १८५ कन्टेनरमा रहेका मालवस्तुहरू आयातकर्ता फेला नपरेको र कतिपय अखाद्य हुनसक्ने भएकाले नष्ट गर्नुपर्ने अवस्थामा छन्। यी कन्टेनरहरू जाँचपास नगरिकनै सिलबन्दी गरेर यार्डमै राखिएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार, सरकारी निकायबाट नष्ट गर्ने सम्बन्धी कुनै निर्णय नहुँदा कन्टेनरहरू थन्किएका हुन्।
यी सिलबन्दी गरिएका १८५ कन्टेनरमा केराऊ ९० कन्टेनर, छोकडा ६१ कन्टेनर, पोस्ता दाना १० कन्टेनर, सुपारी ९ कन्टेनर, फिड सप्लिमेण्ट (आहार पुरक) ७ कन्टेनर, मसुरो दाल २ कन्टेनर चना, ओखर, उडन टुथ ब्रश, बफेल्लो हर्न, मुंग दाल र डियो स्प्रे क्रमशः एक–एक कन्टेनर रहेका छन् ।
यी सबै कन्टेनरहरू हाल स्थानीय प्रशासन, सरकारी कार्यालय र सरोकारवाला निकायहरूको रोहबरमा सिलबन्दी गरी राखिएका छन्।
प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने, ‘कतिपय वस्तुहरू प्रयोगशाला परीक्षणको रिपोर्ट आएपछि अखाद्य रहेको प्रमाणित भएमा नष्ट गर्नुपर्ने हुन्छ। अहिले त्यो रिपोर्ट पनि आएको छैन।
अब केही मालवस्तुको कन्टेनरको सिल तोडेर परीक्षणका लागि पठाउने र रिपोर्ट आएपछि मालवस्तु नष्ट गर्ने वा के गर्ने भन्ने निर्णय लिनु छ।’
चालू आर्थिक वर्षको बजेटबाट ड्राईपोर्ट भन्सार र वीरगन्ज आईसीपी भन्सार कार्यालयको सेवा एकीकृत गरिएकाले पनि पुरानो अभिलेख पत्ता लगाउन समस्या भएको उनको भनाइ छ।
आयातकर्ता फेला नपरेपछि पोस्ता दाना, सुपारी र छोकडा लगायतका मालवस्तु लिलामीका लागि तत्कालिन ड्राईपोर्ट भन्सार कार्यालयले पटक पटक बोलपत्र आह्वान गर्दा पनि लिलामका लागि कोही पनि आएका थिएनन्।
तेस्रो मुलुकबाट आयात गरिएका यी मालवस्तु सिपिङ कम्पनीहरू मार्फत समुद्र हुँदै भारतीय रेलमार्गबाट सिधा वीरगन्ज ड्राईपोर्टमा आइपुगेका थिए।
ड्राईपोर्टमा रेल र कन्टेनर व्यवस्थापनको जिम्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको इन्टर मोडल यातायात विकास समिति मार्फत प्रिन्स्टिन भ्याली ड्राईपोर्टले गर्दै आएको छ।
