वीरगंज । गएको भदौ २३ र २४ गते ‘जेन्जी’ आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण भौतिक पूर्वाधार तथा कार्यालय सामग्री पूर्ण रूपमा नष्ट भएपछि सेवा प्रवाहमा चुनौती सामना गरिरहेको वीरगंज महानगरपालिकालाई यहाँस्थित भास्कर हर्वास्युटिकल्स उद्योगले पाँच थान ल्यापटप सहयोग गरेको छ ।
कार्यालय सञ्चालन तथा प्रशासनिक कामहरूलाई सहज बनाउन कठिनाइ परिरहेको अवस्थालाई मध्यनजर गर्दै भास्कर हर्वास्युटिकल्स प्रा।लि।ले आफ्नो सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत महानगरलाई उक्त सहयोग उपलब्ध गराएको हो ।
आज महानगरपालिकामा आयोजित एक कार्यक्रममा उद्योगका प्रतिनिधि शम्भु अग्रवालले पाँच थान ल्यापटप महानगरका प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरे ।
अग्रवालले समाज र स्थानीय निकायसँगको सहकार्यलाई प्राथमिकता दिने कम्पनीको नीति अन्तर्गत यो सहयोग गरिएको बताए । उनले भने, “वीरगंज हाम्रो कार्यस्थल मात्र होइन, हाम्रो समुदाय हो । त्यस समुदायको पुनःस्थापनामा योगदान दिन पाउनु हाम्रो दायित्व हो।”
कार्यक्रममा महानगर प्रमुख सिंहले भास्कर हर्वास्युटिकल्स प्रति आभार व्यक्त गरे । उनले भने, “भदौको घटनापछि महानगरको भौतिक पूर्वाधार र उपकरण नष्ट हुँदा सेवा प्रवाहमा चुनौती आएको थियो । यस्ता सहयोगहरूले महानगरलाई पुनःस्थापनामा ठूलो सहयोग पुऱ्याइरहेका छन्, ।”
उनले सबै दातृ संस्था र उद्योगसँग सहकार्यमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि पनि सूर्य नेपाल प्रालि, वीरगंज उद्योग वाणिज्य संघ, एनपीएल समाज कल्याण संस्था, औषधी व्यवसायी संघ, केएनपी. जापान र बृटानियाजस्ता संस्थाहरूले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सी लगायतका सामग्री सहयोग गरेका छन् ।
महानगरले यस्ता सहकार्य र सहयोगका कार्यक्रमहरूबाट पालिकाबाट प्रदान गरिने सेवाको पुनःस्थापना तथा डिजिटल प्रशासन प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।
