मनिला । फिलिपिन्समा गत साता लगातार आएका दुई शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या २ सय ५० पुगेको छ। अधिकारीहरूका अनुसार यी प्राकृतिक विपद्का कारण लाखौं मानिसहरू विस्थापित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले दिएको जानकारीअनुसार नोभेम्बर ४ मा आएको कालमेगी आँधीले मध्य फिलिपिन्समा भीषण बाढी र पहिरो निम्त्याएको थियो।
कालमेगीका कारण हालसम्म २ सय ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १ सय १२ जना अझै बेपत्ता छन्।
सबैभन्दा बढी मृत्यु सेबु प्रान्तमा भएको छ। यो क्षेत्र सेप्टेम्बर ३० मा गएको ६।९ म्याग्निच्युडको भूकम्पको पीडाबाट अझै मुक्त हुन सकेको छैन।
यसको लगत्तै नागरिक रक्षा कार्यालयले आइतबार लुजोन टापुमा ठोक्किएको सुपर टाइफुन फङ–वङले कम्तिमा १८ जनाको ज्यान लिएको पुष्टि गरेको छ।
यी दुई आँधीले गर्दा लाखौं बासिन्दाहरू विस्थापित हुन पुगेका छन्। घर, खेतबारी, सडक र पुलहरू सहित देशका प्रमुख पूर्वाधारहरू ध्वस्त भएका छन्।
फङ–वङ यस वर्ष फिलिपिन्समा आएको २१औं उष्णकटिबंधीय आँधी हो। यसले देशमा वार्षिक औसत २० वटा आँधी आउने क्रमलाई उछिनेको छ, जसले प्राकृतिक विपद्को बढ्दो जोखिमलाई उजागर गरेको छ।
