वीरगन्ज । तराई मधेसमा सबैभन्दा ठूलो पर्वको रुपमा मनाईने छठ आज (शनिबार) देखि औपचारिक रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने यस आस्थाको महापर्वका लागि नदि, तलाउ, पोखरी लगायत जलाशयहरुमा घाटहरू बनाई सिँगार्ने र व्यवस्थित गर्ने काम तीव्र गतिमा भइरहेको छ।
देशभरीकै आकर्षणको रुपमा रहेको वीरगन्जको घडिअर्वा पोखरी सहित रानीघाट, स्वीमिङपुल, नगवा, मुर्ली, चिनिमिल पिपरा, सुखचैना, सिर्सिया लगायत विभिन्न जलाशयहरुमा सजिसजाऊ गरिएको छ ।
घडिअर्वा पोखरीमा सजावट लगायतमा २५ लाख रुपैंया खर्च हुने अनुमान रहेको छठ पूजा व्यावस्थापन समितिका अध्यक्ष राकेश साहले जानकारी दिए । उनका अनुसार घडिअर्वा पोखरीमा यसपटक पनि पाँच हजार छठको प्रसादी राखिने (दउरी) हुने अनुमान छ ।
घडिअर्वा पोखरी परिसरमा श्रद्धालु भक्तजनहरुलाई दउरी राख्न कुनैपनि शुल्क नलाग्ने पनि अध्यक्ष साहले बताए ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर र मटकोरर्वा पोखरीजस्ता महत्वपूर्ण जलाशयहरूमा छठको तयारी स्वरूप सजावटको कामले अन्तिम रूप लिँदैछ।
गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताका अनुसार गत वर्षजस्तै यो वर्ष पनि गङ्गासागरको आधा भागमा सजावट र व्यवस्थापनको काम भइरहेको छ। उनले यस वर्ष सरसफाइ र व्यवस्थापन विगतभन्दा राम्रो बनाइएको जानकारी दिए।
गङ्गासागरमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा छ भने झिलिमिली बत्तीको काम बाँकी रहेको छ। गङ्गासागरको व्यवस्थापनका लागि यो वर्ष प्रतिअर्घ रु ६०० सहयोगस्वरूप निर्धारण गरिएको छ। तीनवटा समितिले गङ्गासागरमा सजावटको काम गरिरहेका छन्।
यस्तै, अरगजा सरमा घाट निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिएपछि नै आफूहरू तयारीमा जुटेको बताए। उनले अरगजा सरमा हिन्दू मात्र नभई मुस्लिम समुदायका केही व्यक्तिहरूले पनि अर्घ राख्ने गरेको जानकारी दिए। कर्णका अनुसार यस पोखरीमा पाँच हजारभन्दा बढी अर्घ रहने गरेको र यो सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ। शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ।
घरेलु उत्पादनको महत्व र बजारमा भीडस् मिथिलाञ्चल क्षेत्रमा मनाइने यो पर्व पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर रहन्छ। व्रतालुहरूले आफ्नै खेतबारीमा उब्जिएको गहुँ, चामलजस्ता अन्नको व्यवस्था गरी त्यसलाई शुद्धताका साथ घरकै जाँतोमा पिसेर पर्वका सामग्रीहरू तयार गर्छन्।
पर्व नजिकिएसँगै जनकपुरधामका बजारहरूमा सामग्री किन्नेहरूको भीड लागेको छ। छठ पर्वमा बाँस तथा माटोबाट बनेका सामानलाई शुद्ध मानिने भएकाले माटोबाट बनेको घैँटो, हात्ती र बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतीलगायतका सामानको माग ह्वात्तै बढेको छ। लोकआस्थाको पर्व छठ पछिल्लो समयमा तराई मधेसमा मात्रै होईन पहाडमा पनि लोकप्रिय बन्दै गएको छ ।

