वीरगन्ज। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको मोटरसाईकल सहितको भन्सार छलीका सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।
भारतबाट भन्सार छलि गरी ल्याउदै र लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणका अवैध सामानसहित मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको हो।
बरामद गरिएका सामान र मोटरसाइकलको कुल मूल्य रु. ६ लाख २४ हजार ५० रहेको सशस्त्र प्रहरी बल नेपाल नमबर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए।
बिहीबार सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले जिल्ला पर्साको बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठ्ठा स्थित भारतबाट अवैध रूपमा भन्सार छली गरी टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको रु.२ लाख७६ हजार ३४० रुपैंया बराबरको कपडा बरामद गरेको थियो।
बुधबार नै सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेटक्वाटर पर्साबाट खटिएको अर्को टोलीले पर्साको धोविनी गाउँपालिका–१, जानकीटोला स्थित भारतबाट अवैध रूपमा भन्सार छली गरी मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको रु.७३ हजार पाँचसय बराबरको किराना र कस्मेटिक सामानहरू बरामद गरेको थियो ।
सशस्त्र प्रहरीको टोलीलाई देखेर सामान ल्याउने व्यक्ति भने समान र मोटरसाईकल छाडेर भागेको थियो ।
त्यसै शुक्रबार बिहान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीबाट खटिएको टोलीले पर्साको विन्दवासिनी गाउँपालिका–३, झौवा स्थित नेपालबाट भारततर्फ मोटरसाइकलमा लोड गरी लैजाँदै गरेको अवस्थामा चारहजार २१० बराबरको स्याउ ओसार्न प्रयोग गरिएको २ लाख ७० हजार मूल्य बराबरको मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक योञ्जनले बताए ।
बरामद गरिएको उक्त स्याउ र मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।

