बारा । युवाहरूले सदरमुकाम कलैयाको ३ किलोमिटर सडक निर्माणका लागि संकलन गरिएको हस्ताक्षर मन्त्रालयमा लैजाने तयारी गरिएको छ । स्थानीयवासीको उल्लेखनीय सहभागितामाख असोज ३१ गतेदेखि कार्तिक ६ गतेसम्म सञ्चालन गरिएको अभियानमा २ हजार पाँचसय भन्दा बढी नागरिकले हस्ताक्षर गरी सडक निर्माणको मागलाई समर्थन जनाएका छन्।
युवाहरूको अगुवाइमा सञ्चालित अभियानको उद्देश्य लामो समयदेखि जीर्ण र हिलोधुलो अवस्थामा रहेको कलैयाको मुख्य सडकलाई हस्ताक्षरको दवावमार्फत छिट्टै निर्माण गराउन सरोकारवालाको ध्यानाकर्षण गराउन रहेको छ । उनीहरूले हस्ताक्षर संकलनपछि उक्त मागपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्म पुर्याउने तयारी गरेको बताएका छन्।
नागरिक समाजका उपाध्यक्ष एकरामुल हक अंसारीले भने, “सडक जनता जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। कलैयाको मुख्य सडकमा हिँड्नै कठिन छ, जसका कारण व्यवसाय, शिक्षा र स्वास्थ्य सेवामा समेत समस्या परेको छ। सरकार र सम्बन्धित निकायले अब ढिलाइ नगरी तत्काल निर्माण कार्य अगाडि बढाउनुपर्छ।”
अजय गुप्ताले भने, “हामी नागरिकले कर तिरेका छौं, त्यसको प्रतिफलका रूपमा आधारभूत पूर्वाधार पाउनु हाम्रो अधिकार हो। यो हस्ताक्षर अभियान हाम्रो आवाजलाई औपचारिक रूपमा सरकारसम्म पुर्याउने माध्यम हो।”
स्थानीय युवाहरूले सडक निर्माणका लागि निरन्तर दवाव अभियान जारी राख्ने बताएका छन्। उनीहरूका अनुसार, यदि माग पूरा नभए आगामी दिनमा कलैयामा चरणबद्ध आन्दोलन समेत गर्ने तयारी छ।

