रंजीत पाण्डेय
बारा । बाराको प्रसौनी गाउँपालिका–३ नौतनस्थित क्षेत्रबाट प्रहरीले लागू औषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्ने व्यक्ति पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–३ सानो देउतीका ४२ वर्षीय रामाशंकर दास रहेका छन्। निजको पाइन्टको बाँया गोजी खानतलासी गर्दा कागजमा बेरेर राखिएको खैरो रंगको हिरोइनजस्तो देखिने १९।७८० मिलिग्राम तौलको पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वीरगंजबाट प्रसौनीतर्फ पैदल आउँदै गरेको अवस्थामा शंका लागेर रोक्न खोज्दा दास भाग्ने प्रयास गरेपछि प्रहरी टोलीले लखेटेर पक्राउ गरेको थियो।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी, बाराबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले विहीबार साँझ करिब ४ः३० बजे शंकास्पद व्यक्तिलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो।
बरामद गरिएको लागू औषधसहित पक्राउ परेका रामाशंकर दासलाई इलाका प्रहरी कार्यालय प्रसौनी, बारामा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय प्रसौनीबाट करिब ५०० मिटर दक्षिण तर्फको क्षेत्रमा पर्छ।

