वीरगन्ज । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लीग नेपाल YCL ले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि सामाजिक सञ्जालमा फैलाइएको भनिएको ‘२ करोड’ रुपैयाँको अफवाह को सशक्त खण्डन गर्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेको छ।
YCL पर्सा र बारा जिल्ला समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिन गरी कारबाही नगरिए आन्दोलनमा उत्रिने कडा चेतावनी दिएका छन्। YCL पर्सा जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत गृहमन्त्रालय सिंहदरबारलाई एक विस्तृत ज्ञापनपत्र बुझाएको छ।
पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपाने ले फैलाएको भनिएको प्रचार पूर्णरूपमा भ्रामक, तथ्यहीन र राजनीतिक प्रतिशोध बाट प्रेरित भएको संगठनको ठहर छ।
ज्ञापनपत्रमा हालैको ‘जेनजी’ आन्दोलनपश्चात् देशमा अस्थिरता ल्याउने उद्देश्य का साथ भ्रम फैलाउने कार्य भइरहेको उल्लेख छ। प्रचण्डको घर जलाइँदा अघि ‘दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइयो’ भन्ने आरोप निराधार भएको बताउँदै संगठनले आरोप प्रमाणित गर्ने दायित्व सम्बन्धित व्यक्तिहरूकै हुने स्पष्ट पारेको छ।
YCL संगठनले संयोजकको सचिवालयले असोज २७ गते नै नेपाल प्रहरीको साइबर ब्युरोमा साइबर अपराध अन्तर्गत कानूनी अनुसन्धान गरी कारबाहीका लागि उजुरी दर्ता गरिसकेको जानकारी गराएको छ।
तर, भ्रम फैलाउनेहरूमाथि कारबाही गर्नुको सट्टा YCL नेपालका केन्द्रीय अध्यक्ष लगायत युवा–विद्यार्थीहरूमाथि झूठा आरोप लगाएर पक्राऊ गर्ने प्रयास गरिनु निन्दनीय र अन्यायपूर्ण रहेको भन्दै YCL पर्साले यस्तो कार्य तत्काल नरोकिएमा संयुक्त आन्दोलनमा उत्रिने कडा चेतावनी दिएको छ।

यसैगरी, YCL नेपाल, जिल्ला समिति बाराले पनि बुधबार औपचारिक स्पष्टीकरण पत्र सार्वजनिक गर्दै आफू र संगठनमाथि लागेको आरोपहरूको खण्डन गरेको छ।
जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई पठाइएको पत्रमा YCL बाराले झूटा, भ्रमपूर्ण र राजनीतिक उद्देश्यले प्रेरित आरोपहरूलाई पूर्णरूपमा अस्वीकार गरेको जनाएको छ।
केही स्वार्थी र प्रतिक्रियावादी तत्वहरूले YCL का युवाहरूमाथि नकारात्मक प्रचार–प्रसार गर्दै संगठनलाई बदनाम गर्ने षड्यन्त्र गरिरहेको संगठनको आरोप छ।
संगठनले झूटो र तथ्यहीन प्रचार गर्ने व्यक्तिहरूलाई कानूनी कारबाहीको माग गर्दै, संगठन वा नेतामाथि राजनीतिक प्रतिशोधका आधारमा धम्क्याउने, तर्साउने वा हल्ला फैलाउने गतिविधि नगर्न चेतावनी दिएको छ।
YCL बाराले संगठनको गतिविधिलाई बदनाम गर्ने जुनसुकै षड्यन्त्रपूर्ण कार्यविरुद्ध सशक्त प्रतिवाद र आन्दोलनको तयारी रहेको स्पष्ट घोषणा गरेको छ। दुवै जिल्लाका थ्ऋी समितिले ‘सत्यलाई तोडमोड गरी बदनाम गर्ने प्रयास कदापि सह्य नहुने’ चेतावनी दिएका छन्।

