हेटौंडा । बिल बिजकभन्दा बढी मालसामान बोकेको एउटा ट्रक मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको रातोमाटे चेकपोष्टमा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
झापाबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ८०३१ नम्बरको शंकास्पद ट्रकलाई मकवानपुर, हेटौंडा उप–महानगरपालिका वडा नं.–१५ स्थित रातोमाटे चेकपोष्ट नजिक सडक खण्डमा रोकेर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उक्त ट्रकमा रहेका मालसामानको परिमाण बिल बिजकमा उल्लेख गरिएभन्दा बढी रहेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीले बिल बिजकभन्दा बढी मालसामानसहितको ट्रक र ट्रकका चालक जिल्ला झापा, अनारमणी नगरपालिका वडा नं.–२ बस्ने वर्ष ४८ का खोमनाथ अधिकारीलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएका ट्रक, मालसामान र चालक अधिकारीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

