वीरगञ्ज । पर्सा प्रहरीले श्रोत नखुलेको (हुण्डी) सहित एक युवकलाई वीरगञ्जबाट पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.–१६ बस्ने वर्ष १९ का किशन यादवलाई चार लाख ३४ हजार रुपैंया स्रोत नखुलेको रकम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
उनलाई वीरगञ्ज महानगरपालिका वडा नं.–१०, आदर्शनगरस्थित नबिल बैंक अगाडिको सडक खण्डमा संकास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिई खानतलासी गर्दा ती व्यक्तिबाट उक्त रकम बरामद भएको हो।
यादवले लगाएको सेतो जिन्स पाइन्टको खल्तीबाट नेपाली रू. ५०० दरका ८६८ थान ४ लाख ३४ हजार रुपैयाँ प्रहरीले बरामद गरेको थियो । बरामद रकम सहित यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक लम्सालले बताए ।
पक्राउ परेका किशन यादवविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा मुद्दा चलाइएको छ।
पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमतिको लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। हुण्डीको कारोबारले देशको अर्थतन्त्रमा नकारात्मक असर पार्ने भएकाले यस प्रकारका गैरकानूनी गतिविधिको नियन्त्रणमा प्रहरी सक्रिय रहेको प्रहरीको भनाई छ ।

