काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका परिवारका सदस्यहरूलाई लक्षित गरी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा ‘तथ्यहीन’ र ‘चरित्रहत्या’ गर्ने सामग्रीहरू प्रकाशित र प्रसारित भएको भन्दै पार्टीले गम्भीर आपत्ति जनाएको छ।
संयोजक प्रचण्डको सचिवालयको तर्फबाट गोविन्द आचार्यले आईतबार जारी गरेको प्रेस नोटमा पछिल्लो समय पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले गलत सूचना प्रवाह गरिएको भन्दै खेद प्रकट गर्दै कडा शब्दमा भत्र्सना गरिएको छ।
प्रेस नोटमा वर्तमान संवेदनशील घडीमा पार्टी नेतृत्वलाई लक्षित गरी भ्रामक प्रचार गरिएको उल्लेख छ। नेपालको संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकार आचारसंहिताको गम्भीर अवमूल्यन भएको सचिवालयको दाबी छ।
‘कुनै पनि सामग्री प्रवाह गर्दा अरुमाथि गालीगलौज, चरित्रहत्या र मानहानी गर्न बन्देज गरिएको छ’ प्रेस नोटमा भनिएको छ, ’तर हाम्रो पार्टी र नेतृत्वविरुद्ध प्रवाह भएका पछिल्ला केही सामग्रीहरूमा ती सबै कानूनी र नैतिक मापदण्डहरुको अवमूल्यन गरी एकतर्फी ढंगले पूर्वाग्रही, उत्तेजनापूर्ण, प्रायोजित र असत्य विवरणहरू प्रस्तुत गरिएको स्पष्ट देखिन्छ।’
सचिवालयले विशेषगरी दुईवटा निराधार आरोपहरूलाई लक्षित गर्दै सम्बन्धित सञ्चार माध्यमहरूलाई प्रमाण पेस गर्न चुनौती दिएको छ । दुई करोड रुपैयाँको आरोपस् ुजेन जी आन्दोलनु पूर्व संयोजक प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको भन्ने पूर्णतः निराधार आरोपको सत्यता प्रमाणित गर्न र सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको र गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको भन्ने दाबीको प्रमाण माग गरेको छ ।
सचिवालयले डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसारहरू साइबर कानुनविपरीत भएको ठहर गर्दै आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरू (प्रहरी तथा नियामक निकाय) मा अनुरोध गरेको छ।
प्रेस नोटको अन्त्यमा, भविष्यमा पनि यस्ता तथ्यहीन र दुरासयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्ष स्वयंमाथि नै रहने स्पष्ट पारिएको छ। साथै, आम जनसमुदायलाई यस्ता भ्रामक कुप्रचारको भ्रममा नपर्न समेत हार्दिक अपिल गरिएको छ।