काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्देशन दिएका छन् ।
शनिबार दिउँसो मन्त्रालयमा भएको सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले यस्तो निर्देशन दिएका हुन् । मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसँग शनिबार छलफल गरेका थिए ।
बैठकमा सहभागी यातायात व्यवसायीहरूले रात्रिबस दिउँसो चलाउन माग गरेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिरो बाढी पहिरोका कारण अहिलेको परिस्थिति नाजुक रहेको बताउँदै रातको समयमा चल्ने बसलाई दिउँसो चलाउनु उपयुक्त हुने बताएका थिए ।