नारायणगढ। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा शुक्रबार साँझ ठूलो पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ।
साँझ करिब ६ बजे खसेको पहिरोले करिब सय मिटर सडक ढाकेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ। निरन्तर पहिरो खसेकाले रातभर काम गर्न नसकिएको र यात्रुहरू सडकमै अलपत्र परेको जनाइएको छ।
आज बिहानदेखि दुवैतर्फबाट लोडर परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ। थप पहिरो नखसेमा करिब चार घण्टाभित्र सडक सञ्चालन हुने अनुमान गरिएको छ।
पहिरो खसेको स्थान मुग्लिनबाट दुई दशमलव पाँच किलोमिटर नारायणगढतर्फ पर्छ।