रञ्जित पाण्डे
वीरगन्ज । मधेश प्रदेशको बारा जिल्लास्थित दुधौरा खोलामा टिकटक भिडियो बनाउने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव पाँच दिनपछि फेला परेको छ। प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय बिकी गोसाईको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गत असोज १९ गते बिहान करिब ८ः३० बजे दुधौरा पुलमा भिडियो बनाउन गएका बिकी गोसाई र उनका साथी अनुराग केसरवानी पुलबाट खोलामा हाम फालेका थिए। २० वर्षीय अनुराग पौडी खेलेर बाहिर निस्कन सफल भए पनि बिकी गोसाई भने खोलाको तीव्र वहावमा परेर बेपत्ता भएका थिए।
घटनालगत्तै इलाका प्रहरी कार्यालय प्रसौनीको टोली र स्थानीयको सहयोगमा खोजतलास सुरु गरिएको थियो। पछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलीले खोजी कार्यलाई व्यापक बनाएको थियो।
पाँच दिनसम्मको निरन्तर खोजी कार्यपश्चात् आज असोज २४ गते बिहान करिब ७स्०० बजे बिकी गोसाईको शव फेला परेको हो। प्रहरीका अनुसार शव फेटा गाउँपालिका–१ त्रिवेणी खोलाको पुलदेखि करिब १०० मिटर दक्षिणतर्फ, खोलाको बिच भागमा बालुवाले पुरिएको अवस्थामा भेटिएको थियो।
मृतकका बुवा शम्भु गोसाईले खुट्टा र लगाएका कपडाका आधारमा शवको पहिचान गरेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा पुगेको टोलीले मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारा पठाएको छ।
प्रारम्भिक अनुसन्धानले टिकटक बनाउने क्रममा असावधानीका कारण यो दुःखद दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
यस घटनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले दुधौरा खोलामा वर्षायाममा पानीको बहाव तीव्र हुने हुँदा कुनै पनि गतिविधि, विशेषगरी तस्बिर वा भिडियो खिच्ने क्रममा अत्यधिक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।