वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको साउथसिटी हिमाल अस्पताल फेरी विवादमा तानिएको छ । अस्पतालमा गर्भवती महिलाको उपचारको क्रममा मृत्यु भएको घटनाले विवाद उत्पन्न भएको हो । रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका निवासी रुबी खातुनको मृत्युपछि साउथ सिटी हिमाल अस्पतालमा तनाव भएको छ ।
पीडितका पति मोहम्मद मुस्ताकका अनुसार रुबी बुधबार बिहान ४ बजे प्रसूति पीडासहित अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रिति यादवको टोलीले उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ । तर, उपचारकै क्रममा राति उनको अचानक मृत्यु भएपछि परिवारजनले अस्पताल प्रशासनमाथि गम्भीर लापरवाही गरेको आरोप लगाएका छन् । “अवस्था गम्भीर हुँदाहुँदै पनि अस्पतालले बेवास्ता गर्यो” पीडित परिवारको आरोप छ ।
मृतकका पति महमद मुस्ताकले अस्पतालले उपचारमा गम्भीर लापरवाही गरेको दाबी गरेका छन् । उनले भने “हामीले बारम्बार बिरामीको अवस्था गम्भीर देखिएको भन्दै डाक्टरलाई सर्तक हुन आग्रह गर्यो, तर अस्पताल पक्षले ‘सब ठिक छ, चिन्ता नलिनु’ भन्दै हामीलाई ढाडस दिएको थियो । राति भने अकस्मात् मृत्युको खबर दिइयो ।” मुस्ताकका अनुसार अस्पतालले बिरामीको अवस्था बिग्रँदै जाँदा समयमै आवश्यक उपचार र निर्णय गर्न ढिलाइ गर्यो ।
घटनापछि अस्पताल प्रशासनले भने रुबीको मृत्यु उपचारको क्रममा नै भएको र कुनै लापरवाही नभएको दाबी गरेको छ । अस्पतालका एक अधिकारीले नाम नखुलाउने सर्तमा भने, “बिरामीलाई अत्यावश्यक मापदण्डअनुसार उपचार गरिएको थियो । घटनाको वास्तविकता बुझ्न आन्तरिक रूपमा छानबिन सुरु गरिएको छ ।”
घटनापछि पीडित परिवार र स्थानीयवासीले अस्पताल परिसरमा आक्रोश प्रकट गरेका छन् । “परिवारले अस्पताललाई लापरवाहीको आरोप लगाएको छ ।
यसअघि पनि वीरगञ्ज र आसपासका अस्पतालमा प्रसूति सेवा र आपतकालीन उपचारको गुणस्तरबारे प्रश्न उठ्दै आएको छ । रुबी खातुनको मृत्युको घटनाले साउथ सिटी हिमाल हस्पिटल पुनः विवादमा तानिएको छ ।
साउथसिटी हिमाल हस्पिटल यसअघि पनि बढी शुल्क असुलेको आरोपमा विवादमा तानिएको थियो। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालले उपचारका नाममा बिरामीसँग अत्यधिक रकम असुलेको र आर्थिक अनियमितता गरेको भन्दै स्थानीय प्रशासनमा उजुरी समेत परेको थियो । उक्त उजुरीमाथि छानविन गर्न पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रहरीलाई निर्देशन पनि दिएको थियो ।