रञ्जित पाण्डेय
वीरगन्ज । बाराको प्रसौनी गाउँपालिकामा टिकटक बनाउने क्रममा एक युवक बेपत्ता भएका छन् । प्रसौनी गाउँपालिका–२ दुधौरा पुल नजिक आइतबार बिहान टिकटक भिडियो बनाउन खोलामा हाम फालेका दुई युवामध्ये एक जना बेपत्ता भएका हुन्।
असोज १९ गते बिहीबार बिहान करिब ८ः३० बजे, स्थानीय शम्भु गोसाईका २१ वर्षीय छोरा बिकी गोसाई र शंकर केसरवानीका २० वर्षीय छोरा अनुराग केसरवानी दुधौरा खोलामा टिकटक बनाउन भनेर हाम फालेका थिए।
तीमध्ये अनुराग केसरवानी पौडी खेलेर सुरक्षित रूपमा किनारामा निस्कन सफल भए भने बिकी गोसाई खोलाको तीव्र बहावमा बगेर हराएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए ।
घटनाबारे जानकारी बिहान करिब ९ः३० बजे प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा ११ जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा २० जनाको टोली र नेपाली सेनाको टुकडी र स्थानीय बासिन्दाको सहयोगमा खोज तथा उद्धार कार्य सुरु गरिएको थियो।
खोजीका क्रममा मोटरबोट समेत प्रयोग गरिएको भएपनि दिनभरको खोजी प्रयासपछि पनि बेपत्ता बिकी गोसाई फेला परेका छैनन्। अँध्यारो भएको कारण खोजी कार्य स्थगित गरिएको र भोलि बिहानदेखि पुनः खोजी कार्य जारी राखिने ईलाका प्रहरी कार्यालय प्रसौनीले जनाएको छ।
घटनास्थल ईलाका प्रहरी कार्यालय प्रसौनीबाट करिब तीन किलोमिटर पूर्वमा पर्छ।

