बारा । बारामा श्रृंखलाबद्ध रुपमा मान्छेलाई आक्रमण गरी मार्ने नरभक्षी बाघ नियन्त्रणमा लिईएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीले राष्ट्रिय निकुञ्जको आधाभार जंगलमा शुक्रबार बिहान बाघ नियन्त्रणमा लिइएको हो।
पछिल्लो तीन महिनामा बाघको आक्रमणबाट जीतपुरसिमरामा तीन जनाको ज्यान गएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन र जेडएसएलको विज्ञ टोलीले बाघलाई ‘डार्ट’ गरी नियन्त्रणमा लिएको हो।
पथलैया–अमलेखगञ्ज सडकखण्ड नजिकको जंगलमा बाघ देखिएको सूचनापछि विज्ञ टोली हात्तीको सहायतामा पुगेको थियो। टोलीले बाघलाई डार्ट गरेर बेहोस बनाई निकुञ्जको कार्यालयस्थित खोरमा राखेको जीतपुरसिमरा–२१ का वडाध्यक्ष सुवास श्रेष्ठले बताए। बाघ नियन्त्रणका लागि जनप्रतिनिधि, प्रहरी र विज्ञ टोली संयुक्त रूपमा खटिएका थिए।
बाघको आक्रमणबाट असार र भदौमा जीतपुरसिमरा–१ का ६० वर्षीय छेवाङ्ग लामा, वडा नं। २२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा र वडा नं। २१ का ५० वर्षीय चन्द्रबहादुर ब्लोनको मृत्यु भएको थियो। स्थानीयवासीले बाघ नियन्त्रणमा आएपछि राहत महसुस गरेका छन्। निकुञ्ज प्रशासनले थप सुरक्षा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ।