रंजीत पाण्डेय
बारा– जिल्लाको समग्र राजनीतिक, सामाजिक र विकाससम्बन्धी गतिविधिबारे छलफल गर्न सोमबार बारा जिल्लामा सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठक लोसपा बारा जिल्ला अध्यक्ष नवलकिशोर सिंहको अध्यक्षतामा बसेको हो।
बैठकमा जिल्लामा देखिएका विभिन्न समस्या, चुनौती र आगामी दिनमा सबै दलहरूले आपसी समन्वय गर्दै अघि बढ्नुपर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी दलहरूले जिल्लाको हित र जनताको सेवा प्राथमिकतामा राखेर साझा एजेण्डा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसै अवसरमा बैठकले नेपाली कम्युनिस्ट आन्दोलनका क्रान्तिकारी नेता कलैया उपमहानगरपालिका–१४ निवासी ९५ वर्षीय क. नन्दन अर्यालको निधनप्रति गहिरो शोक प्रकट गरेको छ। गत राति ११ बजे काठमाडौंस्थित आफ्नै निवासमा उहाँको निधन भएको थियो।
बैठकले एकमिनेट मौनधारण गर्दै दिवंगत नेताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको र उहाँका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्ने शोक प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ।
बैठकमा जिल्लाका विभिन्न राजनीतिक दलका नेताहरू, समाजका अग्रजहरू तथा सर्वसाधारणको पनि उपस्थिति रहेको थियो।