वीरगञ्ज । भदौ १४ गते शनिबार वीरगञ्जमा नेपाल–भारत सीमापार मिडिया कन्क्लेभ २०२५ हुँदैछ। स्थानीय भिष्वा होटलमा हुने यस कार्यक्रममा नेपाल र भारतका गरी ८० भन्दा बढी पत्रकार, सम्पादक, सञ्चारकर्मी, सञ्चार क्षेत्रका विद्वान्, नीति निर्माता र डिजिटल कन्टेन्ट क्रिएटरहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
मिडिया फर बोर्डर हार्मोनी, नेपालको आयोजनामा कनक्लेभ हुन लागेको संस्थाका नेपालअध्यक्ष अनिल तिवारीले जानकारी दिए । उनका अनुसार यस कन्क्लेभको मुख्य उद्देश्य दुई देशका पत्रकारबीच आपसी समझदारी र सहयोग बढाउनु हो।
यसले सञ्चारमाध्यममार्फत दुवै राष्ट्रको साझा हितलाई सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। साथै, यस कार्यक्रममार्फत नेपाल(भारत मिडिया नेटवर्कको स्थापना गरी दुई देशका पत्रकारहरूबीच दीर्घकालीन र साझा हितमा आधारित सहकार्यका लागि स्थायी संयन्त्र बनाउने लक्ष्य पनि राखिएको छ।
मिडिया फर बोर्डर हार्मोनी, भारतका अध्यक्ष अमरेन्द्र तिवारीले सञ्चारमाध्यमले सार्वजनिक विचार निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन कन्क्लेभले योगदान पु¥याउने बताए।
उनले नेपाल र भारतबीचको सदियौंदेखिको सांस्कृतिक, ऐतिहासिक, भाषिक र सामाजिक–आर्थिक सम्बन्ध, खुला सीमा र ‘रोटी–बेटी’ को सम्बन्धले दुई देशको सम्बन्धलाई अद्वितीय बनाएको उल्लेख गरे।
उनका अनुसार दुवै देशले सुरक्षा, क्षेत्रीय, आर्थिक, सामाजिक र भूराजनीतिक मुद्दामा गहिरो साझेदारीका साथ काम गर्न आवश्यक छ। आयोजकका अनुसार कन्क्लेभमा सहभागी छनोटमा समावेशितालाई विशेष ध्यान दिइएको छ र यो कार्यक्रम मिडिया फर बोर्डर हार्मोनी, भारतको विशेष संयोजनमा हुँदैछ।