वीरगन्ज । प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादव ११ हजार नगद सहित सम्मानित भएका छन् । वीरगन्जबाट प्रकाशित हुँदै आएको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाकोे वार्षिकोत्सवमा यादव सम्मानित भएका हुन् ।
वार्षिकोत्सवको अवसरमा पत्रिकाले पत्रकारिताको माध्यममा ‘खोजी जवाफदेहिताको’ शीर्षकमा नियमित लेख लेखेर योगदान पु¥याएकोमा सम्मान गरेको हो ।
उनलाई कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले पुरस्कार राशीको चेक, दोसल्ला र सम्मान पत्रले सम्मान गरेकी थिईन् ।
सोही अवसरमा यस वर्षको ‘उत्कृष्ट महिला पत्रकारिता पुरस्कार’ जनकपुरकी पत्रकार मनिका झालाई प्रदान गरिएको छ । अन्नपूर्ण पोस्ट दैनिककी मधेश ब्युरो प्रमुख झालाई १५ हजार रुपैयाँको नगद पुरस्कारले सम्मान गरिएको हो।
त्यसैगरी, पत्रिकाले आफ्ना नियमित स्तम्भकार सामाजिक मुद्दामा कलम चलाउँदै आएकी गीता भण्डारीलाई पनि ११ हजार रुपैयाँको नगद पुरस्कारले सम्मान गरेको छ ।
कार्यक्रममा मुख्य अतिथिको रूपमा बोल्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारहरूलाई हतारको पत्रकारिताभन्दा सत्य र तथ्यमा आधारित पत्रकारितामा ध्यान दिन आग्रह गरिन्।
उनले सामाजिक सञ्जाल र डिजिटल पत्रकारिताको यस युगमा हतारमा प्रकाशित हुने समाचारले समाजमा भ्रम फैलाएको र पत्रकारिताको विश्वसनीयतामा प्रश्न उठाएको बताइन्।
वार्षिकोत्सव समारोहमा महासंघका केन्द्रिय लेखा संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, सामाजिक अभियन्ता, सञ्चारमाध्यमका विभिन्न प्रतिनिधि र नागरिक समाजका व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।