काठमाडौं । उपसभामुख इन्दिरा राना मगर कार्यकारी प्रमुख रहेको पीए नेपाल नामक गैरसरकारी संस्थाबाट बालबालिका अवैधरूपमा ओसारपसार गरिएको आरोप सार्वजनिक भएपछि प्रहरीले अध्ययन र अनुसन्धान सुरु गरेको छ।
नेपाल प्रहरीको सीआईबी प्रमुख एआईजी चन्द्र कुँवर खापुङले यो विषय निकै संवेदनशील भएको भन्दै प्रारम्भिक रूपमा तथ्य संकलन भइरहेको बताए। प्रहरी प्रवक्ता विनोद घिमिरेले पनि यो प्रकरण मानव तस्करीसँग जोडिन सक्ने गम्भीर प्रकृतिको देखिएकाले सत्य तथ्य बुझ्न अनुसन्धान अगाडि बढाएको जानकारी दिए।
यसअघि २०७२ सालमै बाल संगठनका अधिकारीले अवैधरूपमा बच्चा दिएको आरोप लागेको थियो भने २०७७ सालमा पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। त्यतिबेला बेलायती नागरिकलाई अवैधरूपमा बच्चा दिएको घटनामा एक अधिकारी पक्राउ समेत परेका थिए।
हाल ५ जना बालबालिकाको अवस्थाबारे स्पष्ट तथ्य नखुलेको र प्रहरी अनुसन्धानपछि मात्र ठोस निष्कर्ष आउने बताइएको छ।