काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फस्ने नेताहरूले पार्टी कमजोर बनाइरहेको भन्दै यस्ता प्रवृत्तिलाई अब सह्य नहुने चेतावनी दिएका छन्। पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्न उत्पादन संघर्षलाई मूल आधार बनाउनु पर्ने उनले बताए।
पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ‘युद्ध होइन, उत्पादन संघर्ष’ भन्ने महाधिवेशनको निर्णयलाई कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकार गर्दै आगामी दिनमा कृषि, उद्योग, जडीबुटी, पर्यटनलगायत क्षेत्रमा आत्मनिर्भर अर्थतन्त्र विकास गर्ने अभियान सुरु गर्ने बताएका छन्।
उनले सहकारी आन्दोलनलाई पनि जनमुखी र समाजवादी बाटोतर्फ अघि बढाउनुपर्नेमा जोड दिँदै माओवादी केन्द्र मात्रै नेपालमा समाजवाद निर्माण गर्ने सम्भावना बोकेको पार्टी भएको दाबी गरे।