वीरगंज । एक जीवन्त महानगर, जहाँ व्यापार र संस्कृतिको संगम छ, आज हैजाको प्रकोपले आक्रान्त छ। यो समाचारले हरेक नागरिकको मनमा चिन्ताको कालो बादल मडारिएको छ। हैजा ‘Vibrio Cholerae’ जीवाणुको कालो छायाँ कुनै साधारण रोग होइन, यो हाम्रो खानेपानी प्रणालीको कमजोरी र व्यवस्थापनको लापरबाहीको क्रूर सत्य हो।
दूषित पानी र फोहोर मिसिएको खानपानबाट फैलिने यो रोगले हामीलाई गम्भीर प्रश्न सोध्छ की वीरगंज जस्तो महत्वपूर्ण सहरमा किन स्वच्छ पानीको सुनिश्चितता भएन ? किन हरेक धाराबाट बग्ने पानी जीवनको आधार होइन, रोगको स्रोत बन्यो ? यसको पछाडि अव्यवस्थित खानेपानी प्रणाली, अनियन्त्रित बोरिङ व्यवस्था र नेतृत्वको गैर जिम्मेवारीले जरा गाडेको छ। यो अवस्थाले हामीलाई केवल हैजासँग लड्न होइन, हाम्रो आधारभूत व्यवस्थापनमाथि पुनर्विचार गर्न बाध्य बनाउँछ।
बिरगंजमा खानेपानीको मुख्य स्रोत भूमिगत पानी हो। तर यस स्रोतलाई व्यवस्थित गर्न प्रयोग गरिएका पाइपलाइन र वितरण प्रणालीले नै रोग फैलाउने बाटो बनाएका छन्। डिप बोरिङको नाममा जथाभावी पानी निकाल्ने काम तीव्र गतिमा भइरहेको छ। समाचार अनुसार, सय मिटरको दूरीमा १५ भन्दा बढी डिप बोरिङ गाडिएका छन्।
यस्तो अव्यवस्थित र अवैज्ञानिक तरिकाले गरिएको बोरिङले केवल भूमिगत जलस्रोतलाई जोखिममा पारेको छैन, दीर्घकालीन रूपमा पानीको सङ्कट निम्त्याउने खतरा पनि बढाएको छ। विशेषज्ञहरूले बारम्बार चेतावनी दिँदै आएका छन् कि यस्तो कार्यले भविष्यमा पानीको अभावसँगै वातावरणीय सन्तुलनमा ठूलो असर पार्नेछ।
थप भयावह कुरा के हो भने, बोरिङका पानीमा आर्सेनिकको मात्रा कति छ भन्ने जाँच कसैले गरेको छैन। यसले जनप्रतिनिधि, मेयर र खानेपानी मन्त्री माननिय प्रदीप यादव कति जिम्मेवार छन् भन्ने कुरा पनि प्रष्ट देखाउँछ। खानेपानी, जो जीवनको आधार हो, त्यसको वितरण प्रणाली भने हाम्रो स्वास्थ्यको शत्रु बनेको छ।
खानेपानी वितरणमा प्रयोग हुने पाइपहरूको गुणस्तर यति कमजोर छ कि तिनले न त प्राविधिक मापदण्ड पूरा गर्छन्, न त सुरक्षाको कुनै ग्यारेन्टी दिन्छन्। यी पाइपहरू प्रायः नालाको फोहोरसँगै अविच्छिन्न रूपमा जोडिएर घर-घरमा पुग्छन्। जोइन्टहरूको कमजोर जडान र धारा जडानमा हुने चुहावटले फोहोर पानी र रोगजन्य जीवाणु जस्तै हैजाका किटाणु खानेपानीमा मिसिने जोखिमलाई झन् गम्भीर बनाएको छ।
विज्ञहरूको अनुसन्धानले स्पष्ट रूपमा देखाएको छ कि यस्तो लापरबाहीपूर्ण प्रणाली नै हैजाजस्ता रोगका जीवाणुहरूलाई हाम्रो घरको धारासम्म पुर्याउने माध्यम बनेको छ। यो अवस्थाले हामीलाई स्वच्छ पानीको सुनिश्चितता मात्र होइन, स्वस्थ जीवनको आधारमाथि नै प्रश्न उठाइरहेको छ।
यो समस्या केवल प्राविधिक कमजोरीमा सीमित छैन। यसको पछाडि नेतृत्वको गैरजिम्मेवारी र कमिसनको लोभ पनि उत्तिकै जिम्मेवार छ। खानेपानी आयोजनाहरूमा गुणस्तरीय सामग्री प्रयोग गर्नुपर्नेमा सस्ता र कमजोर सामग्री प्रयोग गरिन्छ। ठेकेदार र जनप्रतिनिधिहरूको कमिसनको खेलले जनताको स्वास्थ्यमा खेलवाड गरेको छ।
नारायणी अस्पतालका चिकित्सक का अनुसार “जबसम्म खानेपानी वितरण प्रणालीमा सुधार हुँदैन, तबसम्म हैजा र अन्य जलजन्य रोगहरूले बिरामी बनाइरहन्छ।” मुर्ली टोलदेखि सुरु भएको हैजाको प्रकोप अहिले वडा नम्बर ११, १२, १३, १४ र १६ हुँदै नगरपालिकाका अन्य क्षेत्रहरूमा सयौ कोे संख्या मा तीव्र रूपमा फैलिएको छ।
यो केवल हैजामा सीमित छैन; दूषित पानीको कारण डायरिया, टाइफाइड, हेपाटाइटिस ए र झाडापखाला जस्ता रोगहरूको जोखिम पनि उत्तिकै बढेको छ। हरेक वर्षायाममा यस्ता रोगहरूले जनस्वास्थ्यमा गम्भीर चुनौती खडा गर्छन्। तर, स्थानीय सरकार र सम्बन्धित निकायहरूले दीर्घकालीन समाधानका लागि प्रभावकारी कदम चालेको देखिँदैन।
अस्थायी उपायहरू जस्तै क्लोरिन ट्याब्लेट वितरण, विद्यालय बन्द गर्ने, वा अस्पतालमा ओरल रिहाइड्रेशन सोलुसन (ओआरएस) वितरण ले तत्काल राहत दिने प्रयास त गर्छन्, तर यी समस्याको जरो उखेल्न पर्याप्त छैनन्। समस्याको मूल कारण समाधान नहुँदा ठेकेदार र नेताहरूको कमिसनको खेल निरन्तर रहन्छ। हरेक वर्ष नयाँ योजना बनाएर बजेट लुट्ने अवसर गुम्छ।
यसैले उनीहरू समस्यालाई ज्यूँकात्यूँ राख्न चाहन्छन्। यस्तो अवस्थामा नागरिकहरूले चुप लागेर बस्नु भनेको आफ्नै स्वास्थ्य र भविष्यलाई जोखिममा पार्नु हो। यो महामारीलाई नियन्त्रण गर्न र भविष्यमा यस्ता समस्याहरू दोहोरिन नदिन तत्काल कदम चाल्न आवश्यक छ। गुणस्तरीय पाइपलाइन प्रयोग गर्नु, आधुनिक शुद्धिकरण प्रणाली स्थापना गर्नु, नियमित अनुगमन र मर्मत गर्नु, नागरिक सचेतना फैलाउनु, र जिम्मेवारी तथा पारदर्शिता सुनिश्चित गर्नु अहिलेको सबैभन्दा महत्वपूर्ण कार्य हो।
वीरगञ्जको हैजा प्रकरणले हामीलाई एउटा कडा सन्देश दिएको छ हामीलाई सुरक्षित खानेपानी चाहिन्छ, कमिसन र राजनीतिक खेल होइन। नगरप्रमुखदेखि वडा अध्यक्षसम्म सबैले आफ्नो जिम्मेवारी लिनुपर्छ। नागरिकहरूले पनि आफ्नो स्वास्थ्यको रक्षा गर्न सचेत रहनुपर्छ। यदि अहिले समाधान नभए, हैजाले दिएको चेतावनी ठूलो महामारीमा परिणत हुनेछ। अब समय छ सबै मिलेर समस्याको जडमै समाधान खोजौँ, ताकि वीरगञ्ज र समग्र देशले सुरक्षित र स्वस्थ भविष्य पाउन सकोस्।