दाङ । पश्चिम तराईका थारु समुदायले आइतबार विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाएका छन् । हिन्दूहरूको तीजजस्तै महत्त्वपूर्ण मानिने यो पर्वमा दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि दिनभर व्रत बस्ने र साँझपख रोटी पकाई दही, फलफूलसहित अग्नि देवतालाई चढाउने प्रचलन छ ।
अगिल्लो दिन रोटी र दोस्रो दिन भात–तरकारी पकाएर अग्रासन दिने परम्परा रहिआएको छ । यस पर्वमा दाजुभाइले दिदीबहिनीलाई कोसेलीसहित परिकार घरमै पुर्याउने चलन छ, जसले दिदी–भाइबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास गरिन्छ ।
पौराणिक मान्यताअनुसार दाङका थार राजा दङ्गीशरणलाई पाँच पाण्डवमध्ये भीमले व्रतसहित लडाइँमा सहयोग गरेको स्मरणमा अटवारी पर्व मनाइँदै आएको हो । भीमजस्तै बलवान् हुन थारु पुरुषले यस दिन पानीसमेत नखाई व्रत बस्ने परम्परा छ ।
यसै अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिएको छ ।